काठमाडौँ, ११ असोजः हिन्दू धर्मावलम्बीले पितृलाई सम्झेर तर्पण, सिदादान र पिण्डदान गर्ने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ। आज प्रतिपदा तिथिको श्राद्ध गरिँदैछ।
धर्मशास्त्रअनुसार सोह्र श्राद्ध आफ्ना दिवङ्गत पितृको तिथिमा अपराह्न समयमा गर्नुपर्ने मान्यता छ। पितृप्रति दायित्व पूरा गर्ने र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वासका कारण वैदिक सनातन परम्परामा यसको विशेष महत्व छ।
कारणवश सम्बन्धित तिथिमा श्राद्ध गर्न नसकिए वैकल्पिक तिथिमा समेत श्राद्ध गर्न सकिने व्यवस्था शास्त्रमा रहेको धर्मशास्त्रविद्हरू बताउँछन्। पितृ पक्ष समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। त्यसैले दसैँअघि पितृलाई तृप्त पार्ने कर्मका रूपमा पनि सोह्र श्राद्ध गर्ने परम्परा छ। गत जेठमा अधिकमास परेकाले यस वर्ष सोह्र श्राद्ध र बडादसैँ केही ढिलो परेको हो।