राजविराज । लगातारको वर्षाका कारण सप्तरीमा पाँच सय बढी घर डुवानमा परेका छन् । काेसी नदीमा बाढीकाे वहाव बढ्दै जाँदा जिल्लाका हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका ५०० घर डुबानमा परेका हुन् ।
बाढीबाट दुई हजारभन्दा बढी प्रभावित भएकाे बताइएको छ ।
हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२, १३ को बस्तीमा बाढी पस्दा ४८३ र तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ बाढी पस्दा १७ घर डुबानमा परेकाे जनाइएको छ ।
हनुमान नगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीका अनुसार, शुक्रबाररातिदेखि सप्तकोशी नदीको सतह बढेपछि बस्तीमा पानी पसेको हाे । शनिबार बाढी थप बढेपछि डुवानकाे समस्या बढ्दै गएको माझीको भनाइ छ ।
बाढीबाट प्रभावितलाई नगरपालिकाले बिहान र बेलुका खानाको व्यवस्था मिलाएको छ । बर्षा जारी रहेकाले थप डुवानकाे सम्भावना देखिएको माझीले बताए । साेहि क्षेत्रमा शनिबार डुवानमा परेर एक पाँच बर्षे बालकको ज्यान गएको थियाे ।