काठमाडौँ, १० असोजः संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री वालेन्द्र शाह आज स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले स्वागत गरे।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह असोज ६ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए। प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार ब्यञ्जनकार र परराष्ट्र सचिव अमृतबहादुर राई सहभागी थिए।
महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु न्यायलाई संयुक्त राष्ट्रसङ्घका दस्तावेजमा सीमित नराखी प्रभावित समुदायलाई आफ्नो भविष्य निर्माण गर्ने अवसर दिनुपर्नेमा जोड दिएका थिए।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिको प्रसङ्ग उठाउँदै उनले उक्त विपद् नेपालका लागि स्थानीय त्रासदी भए पनि विश्वका लागि जलवायु परिवर्तनको गम्भीर चेतावनी भएको बताएका थिए।
‘हिमनदी र बाढी पासपोर्टमा भिसा लगाएर यात्रा गर्दैनन्’ भन्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनले भौगोलिक सीमा नचिन्ने बताएका थिए। उनले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न प्रस्तावसमेत गरेका थिए।
न्युयोर्क भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए। भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए।
प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिएका थिए।
यसैबीच, प्रधानमन्त्री शाहभन्दा अघि न्युयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल भने महासभाअन्तर्गतका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्।