प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

    काठमाडौं । निरन्तरको वर्षा र प्रतिकूल मौसमका कारण देशका विभिन्न विमानस्थलबाट हुने आन्तरिक हवाई उडान प्रभावित भएका छन् । कमजोर भिजिबिलिटीका कारण पोखरा, भरतपुर र तुम्लिङटारलगायत विमानस्थलमा उडान तथा अवतरणमा समस्या देखिएको हो ।

    बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार पोखरा, भरतपुर र तुम्लिङटारमा भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको छ । तुम्लिङटारका लागि निर्धारित बुद्ध एयरको उडान रद्द भएको छ भने भरतपुरतर्फका तीनवटा उडानसमेत रद्द भएका छन् । मौसमका कारण माउन्टेन फ्लाइट पनि स्थगित गरिएको छ ।

    यस्तै, पोखरा विमानस्थलमा मौसम अनुकूल हुने प्रतीक्षामा केही उडान ढिला भएका छन् । यती एयरलाइन्सले पनि प्रतिकूल मौसमका कारण उडान ढिलाइ तथा समय परिवर्तन हुनसक्ने जनाएको छ। एयरलाइन्सले यात्रुलाई विमानस्थलतर्फ जानुअघि वेबसाइट वा मोबाइल एपमार्फत उडानको पछिल्लो अवस्था जाँच गर्न आग्रह गरेको छ ।

    आन्तरिक उडान प्रभावित हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ । यद्यपि, अन्य गन्तव्यतर्फका अधिकांश आन्तरिक उडान सामान्य रूपमा सञ्चालन भइरहेका छन् । अन्तर्राष्ट्रिय उडानतर्फ भने हालसम्म उल्लेखनीय समस्या नरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij