काठमाडौं । बाढी, पहिरो, लेदो तथा सडक भासिएका कारण देशभर १४ वटा राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । गृह मन्त्रालयअन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाले आज बिहान १० बजेसम्मको विवरण सार्वजनिक गर्दै कोशी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न सडक पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको हो ।
सबैभन्दा बढी बागमती प्रदेशमा १० वटा सडकखण्ड प्रभावित छन् । रसुवाको बारा घुम्ती–रसुवागढी पासाङल्हामु राजमार्ग, त्रिशूली–बेत्रावती–रसुवागढी सडक, मैलुङ–स्याफ्रुबेंसी सडक र धादिङको फुर्केखोलामा कालुपाण्डे राजमार्ग बाढीका कारण अवरुद्ध छन् । यस्तै, धादिङको कृष्णभीर र तिङराङखानी तथा चितवनको धारापानीमा पहिरो र सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
कान्तिलोकपथअन्तर्गत ललितपुरको बिर्खेंधारा, पाङदुरडोल र टाकुर्चेमा पहिरो तथा मकवानपुरको खहरे खोल्सामा लेदोका कारण सडक बन्द छ । काभ्रेको रोशी–७ चारसयवेशी र रोशी–८ गिम्दीवेशीमा पहिरो खस्दा बीपी राजमार्ग पनि अवरुद्ध रहेको मन्त्रालयले जनाएको छ ।
कोशी प्रदेशमा ओखलढुंगाको भँडारे खोलामा बाढी आएपछि सिद्धिचरण लोकमार्ग र सुनसरीको गुप्तबराहमा पहिरो खसेपछि चतरा–बराहक्षेत्र सडक अवरुद्ध छन् । यस्तै, लुम्बिनी प्रदेशमा गुल्मीको रावसे र पातिखोलामा पहिरोका कारण कालीगण्डकी करिडोर तथा रोल्पाको ब्याङखोलामा पहिरोका कारण घोराही–थवाङ सहिदमार्ग पूर्ण रूपमा बन्द रहेको छ ।
