मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    इलाम । मेची राजमार्ग र मेची करिडोर (केचना–कञ्चनजङ्गा सडक)मा आजदेखि रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले एक सूचना जारी गर्दै असोज ८ गते बेलुका ७ः०० बजेदेखि ११ गते बिहान ५ः०० बजेसम्म मेची राजमार्ग बन्द गरिने जनाएको हो ।
     
    जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी बुलेटिन अनुसार असोज ९ देखि ११ सम्म नेपालभर भारी वर्षाको सम्भावना रहेको जनाएपछि सुरक्षालाई ध्यानमा राख्दै रातको समयमा राजमार्गमा सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए ।
     
    “मेची राजमार्ग र मेची करिडोर अहिले पनि जोखिमपूर्ण र जीर्ण अवस्थामा सञ्चालन भइरहेका छन्”, प्रजिअ ढकालले भने, “जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार भारी वर्षा हुने सम्भावना रहेकाले सुरक्षालाई ध्यानमा राखी रातको समयमा दुवै राजमार्ग बन्द गरिएको हो ।” 
     
    जिल्ला प्रशासन कार्यालयले रातको समयमा दुई राजमार्गसँगै अन्य भित्री सडकमा रातको समयमा सावारीसाधन सञ्चालन नगर्न तथा तोकिएको समय र व्यवस्थाको पालना गर्न आग्रह गरेको छ । प्रशासनले अत्यावश्यक सेवाका लागि नजिकैको सुरक्षा निकायसँग समन्वय गरी सवारी सञ्चालन गर्न अनुरोध गरेको छ ।
     
    मेची राजमार्ग झापादेखि पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर हुँदै  ताप्लेजुङसम्म जोड्ने प्रमुख सडकको रुपमा रहेको छ । त्यस्तै, मेची करिडोर झापाको केचनादेखि ताप्लेजुङको कञ्चनजङ्गासम्म जोड्ने अर्को निर्माणाधीन मार्ग हो । अहिले सो मार्गको इलाम खण्ड निर्माणाधीन छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij