डोल्पा । हिमाली जिल्ला डोल्पाको सामुुदायिक वनमा लागेको डंढेलोमा परेर एक बालकको मृत्यु भएको छ । थप दुुई जना गम्भीर घाइते भएका छन् । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने सुँ सामुदायिक बनमा बिहिवार आगलागीमा परेर घाइते भएका १० वर्षीय सुलस बुढाको मृत्यु भएको हो।
घाइते हुुनेमा एकै घरका दाजुुभाई कक्षा ४ मा अध्ययनरत १२ वर्षीय विवस बुढा, कक्षा ५ मा अध्ययनरत १३ वर्षीय समन्त बुढा रहेका छन् । जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ । बाँकी दुई जनालाई थप उपचारका लागि काठमाडौं ल्याउँन चिकित्सक सहित हेलिकप्टर मलाइएको प्रहरीले जनाएको छ ।
बिहिबार साझ गाउँनजिकै गुच्ची च्याउ टिप्न गएका उनीहरु वनमा लागेको डढेलोमा परी घाइते भएका थिए। घाइते भएका बालबालिकालाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो। त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारको लागि काठमाडौं लैजान हेलिकप्टरको व्यवस्थाको गरेको प्रमुख प्रशासकीय अधिकृत जगदिशचन्द्र नेपालीले जानकरी दिए ।
बिहिबार नै सुर्खेतमा नेपाली सेनाको हेलिकप्टरका लागि कुरा गरे पनि मौसमका कारण आउन सकेन। डोल्पामै गत मंगलबार ठुलिभेरी नगरपालिका ४ मा पर्ने मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिक मध्ये तीन जनाको मृत्यु भएको थियो ।