लामो यात्रा नगर्न र बाढीको भिडियो नखिच्न सरकारको आग्रह

लामो यात्रा नगर्न र बाढीको भिडियो नखिच्न सरकारको आग्रह

बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • लामो यात्रा नगर्न र बाढीको भिडियो नखिच्न सरकारको आग्रह

    काठमाडौं । आजदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सरकारले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    मौसम विज्ञान विभागका अनुसार लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह अचानक बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो जान सक्ने, तराईका होचा भूभागमा डुबान तथा हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने सम्भावना छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ । बाढी आएका बेला खोलानदी नजिक गएर टिकटक नबनाउन, भिडियो नखिच्न तथा दाउरा संकलन नगर्नसमेत प्राधिकरणले आग्रह गरेको छ ।

    जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकलाई तत्काल सुरक्षित स्थानमा जान तथा ट्राभल एजेन्सीलाई नयाँ बुकिङ नगर्न भनिएको छ । खेतबारीतर्फ जाने बाटो, गल्ली, कुलो तथा अन्य माध्यमबाट भेल पस्न नदिन र धान पाक्न लागेको खेत, तरकारीबारी तथा फलफूल बगैँचामा पानी निकासको उचित व्यवस्था गर्न पनि सुझाव दिइएको छ ।

    नदी तथा खोला आसपासका क्षेत्र र पहिरोको जोखिम भएका भिरालो भूभागमा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    प्राधिकरणका अनुसार भोलिदेखि तीन दिनसम्म नदीको अवस्था तथा सम्भावित विपद्को जोखिमबारे हरेक घण्टा अद्यावधिक सूचना उपलब्ध गराइनेछ । सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकको मोबाइलमा एसएमएसमार्फत सूचना पठाइने भएकाले प्राप्त अलर्टलाई गम्भीरतापूर्वक लिन प्राधिकरणले आग्रह गरेको छ ।

    सम्भावित बाढीपहिरोका कारण सडक अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै मुख्य राजमार्गमा सडक खुलाउन डोजरलगायतका उपकरण तयारी अवस्थामा राखिएको छ । देशभरका सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रतिकार्यको तयारी तीव्र पारिएको प्राधिकरणले जनाएको छ ।

    यसैबीच प्रधानमन्त्री वालेन्द्र शाहले सम्भावित मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायलाई आवश्यक तयारी, आपसी समन्वय तथा पूर्वसतर्कता अपनाउन निर्देशन दिएका छन् ।

    भारी वर्षाको सम्भावना भएका स्थानमा असोज ८ र ९ गते विद्यालय बिदा गर्न सकिने

    भारी वर्षा तथा सम्भावित विपद्लाई ध्यानमा राख्दै शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न आग्रह गरेको छ ।

    मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइलाई पठाएको पत्रमा असोज ९ देखि ११ गतेसम्म विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको जनाएको छ ।

    त्यस्तै, विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज ९ देखि ११ गतेसम्म तय गरिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न मन्त्रालयले आग्रह गरेको छ ।

    मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई आवश्यक परेमा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहलाई सहजीकरण गर्न भनेको छ । साथै, अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन आग्रह गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij