काठमाडौं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र गहिरो न्यून चापीय क्षेत्रमा परिणत भएको छ । उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने अनुमान गरिएको छ ।
यसको प्रभावले अहिले देशभर सामान्यतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सामान्यतया बदली रहने अनुमान छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका धेरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । सुदूरपश्चिमको तराई भूभागका केही स्थानमा समेत वर्षाको सम्भावना छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ । मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
यस्तै, आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ । ती प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा मधेसका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातिको समयमा कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा रातभर वर्षा
यसैबीच, काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा रातभर वर्षा भएको छ । अन्य क्षेत्रको तुलनामा पाल्पा र कपिलवस्तुमा बढी वर्षा भएको जनाइएको छ । लुम्बिनी प्रदेशसँगै गण्डकी प्रदेशका केही स्थानमा पनि ठूलो वर्षा भएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार कपिलवस्तु, गुल्मी तथा गण्डकी प्रदेशका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका खोलानालामा जलसतह बढ्दो क्रममा रहे पनि हाल अवस्था सामान्य रहेको छ ।
कर्णाली प्रदेशका हिमाली क्षेत्रबाहेक अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि वर्षाको क्रम अझ बढ्ने जनाएको छ । केही स्थानमा मुसलधारे तथा अत्यधिक भारी वर्षासमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाका अनुसार आइतबारसम्म देशका धेरै स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिम रहेका क्षेत्रमा आवश्यक सावधानी अपनाउनुपर्नेछ ।