काठमाडौं महानगरमा कांग्रेस सभापति निर्विरोध निर्वाचित सुसन वैद्य को हुन ?

काठमाडौं महानगरमा कांग्रेस सभापति निर्विरोध निर्वाचित सुसन वैद्य को हुन ?

बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौं महानगरमा कांग्रेस सभापति निर्विरोध निर्वाचित सुसन वैद्य को हुन ?

    काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा ई. सुसन वैद्य निर्वाचित भएका छन् । वैद्य मुलुकभरकै शक्तिशाली महानगर सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् । पेशाले आर्किटेक्ट ईन्जिनियर रहेका उनी यसअघि काठमाडौं महानगरको सचिव थिए । 

    नेपाल विद्यार्थी संघबाट थापाथली इन्जिनियरिङ्ग क्याम्पसमा २०५५ सालमा स्ववियु उपसभापति बनेका वैद्यले नेविसंघ काठमाण्डौंका जिल्ला सदस्य, सह–सचिव, उपाध्यक्षका रूपमा समेत काम गरेका थिए । नेपाल इन्जिनियरीङ्ग एसोसिएसनमा ३१ औं कार्यकारीणी समिति सदस्य र ३३ औं कार्यकारीणी समितिमा कोषाध्यक्ष निर्वाचित भइ काम गरेको अनुभवसमेत उनीसँग छ ।

     नेपाली कांग्रेसको १२ औं र १३ औं महाधिवेशबाट काठमाण्डौं जिल्ला सदस्य निर्वाचित भएका उनी १४ औं महाधिवेशनबाट काठमाण्डौं महानगर सचिव पदमा अत्याधिक मतले निर्वाचित भएका थिए । २०७९ सालमा काठमाडौं महानगरको मेयर पदका लागि उम्मेदवारका रुपमा पार्टीमा सिफारिसमासमेत परेका थिए, वैद्य । 

    २०८२ सालमा नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं ६ को प्रत्यक्षतर्फ प्रतिनिधिसभा उम्मेदवारका लागि समेत उनकाे नाम सिफारिस भएको थियो। पार्टी राजनीतिलाई नै सेवाको रुपमा लिने ई. वैद्य पछिल्लो १६ वर्ष देखि इन्जिनियङ्गि पेशामा सक्रिय रहँदै आइरहेका छन् । नेपाल ईन्जिनियर्स एसोसिएसनबाट युथ प्रोफेसनल अवार्ड समेत प्राप्त गरेका उनले इन्जिनियरहरुलाई प्रत्यक्ष रोजगारी श्रृजना गर्नमासमेत उल्लेख्य भुमिका निभाउदै आएका छन् ।

    ई. वैद्यले राष्ट्रिय योजना आयोगमा विज्ञ सल्लाहकारको रुपमा काम गरेका छन् । त्यसैगरी उनले २०७२ सालको भकुम्प पछि राष्ट्रिय पुनः निर्माण प्राधिकरणमा विज्ञ सल्लाहकारको भुमिकामा रहँदै नीति निमार्णमा सहयोग तथा भुकम्प पश्चातको पुनर्निर्माणमा प्राविधिक दक्षतालाई प्रस्तुत गरेका थिए । वैधले रक्षा मन्त्रीको सल्हाहकारको रुपमा सेवा प्रदान गरिसकेका छन् । 

    तत्कालीन महानगर प्रमुख विद्यासुन्दर शाक्यले रानी पोखरी पुननिर्माणको क्रममा पुरातात्त्विक सम्पदाको मापदण्ड बिपरित निर्माण गर्न लागेको भन्दै ई. वैद्यले चर्को विरोध गरेका थिए । यसैगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा खुला मन्चलाई ब्यवसायीक रुपमा संचालन गर्ने गरि ब्यवसायीक पसल सटर निर्माण गर्न अनुमति दिइएको समयमा उनले `खुला मन्च खुला गर´अभियानको नेतृत्व गरेका थिए । 

    त्यसबखत चौतर्फी विरोधपछि खुला मन्चमा सटर बनाउने निर्णयबाट सरकार पछि हटेको थियो। यसैगरी ई. वैद्यले `अकुपाइ टुँडिखेल´ अभियानमासमेत सहभागिता जनाएका थिए। टुँडिखेलको अतिक्रमण रोक्न सो अभियान संचालन गरिएको थियो । ई. वैद्यले कमलपोखरीलाई वर्तमान स्वरुपमा पुनर्निर्माण गर्ने सवालमा पनि आवाज उठाएका थिए ।

    उनले कमलपोखरीमा कंक्रीटको प्रयोगमा विरोध गर्दै पटक-पटक प्रदर्शनमा सहभागी भएका थिए । यसैगरी काठमाडौंमा भएको गुठी आन्दोलनमा पनि उनले नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए । काठमाडौलाई बस्न योग्य शहर बनाउने र काठमाडौंको ऐतिहासिकता, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा ई. वैद्यले आफुलाई नेतृत्व तहमा उभ्याउँदै आएका छन् । उनी कांग्रेस भित्र काठमाडौंको आर्किटेक गर्ने डीजाइनरका रुपमासमेत चिनिन्छन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij