सिद्धबाबा सुरुङमार्गमा मङ्सिरभित्रै गाडी गुडाउने तयारी

सिद्धबाबा सुरुङमार्गमा मङ्सिरभित्रै गाडी गुडाउने तयारी

बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • सिद्धबाबा सुरुङमार्गमा मङ्सिरभित्रै गाडी गुडाउने तयारी

    पाल्पा, ७ असोजः निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा आगामी मङ्सिरभित्रै सवारी साधन सञ्चालन गर्ने गरी काम तीव्र पारिएको छ। मुख्य सुरुङभित्रको सडक निर्माण र अधिकांश सिभिल संरचनाको काम सकिएपछि आयोजना कार्यालयले बाँकी कामलाई अन्तिम चरणमा पुर्‍याएको हो।

    सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलका आयोजना प्रमुख नवराज बाँस्तोलाका अनुसार मङ्सिर १५ गतेभित्र सुरुङमार्गमा सवारी सञ्चालन गर्ने लक्ष्य छ। बर्खा र भोटेकोशीमा आएको बाढीका कारण निर्माण सामग्री ल्याउन ढिलाइ हुँदा पूर्वनिर्धारित समय करिब एक महिना पछाडि धकेलिएको उनले बताए।

    भोटेकोशी बाढीले सुरुङमार्गका लागि ल्याइएका विद्युतीय सामग्रीसमेत बगाएपछि सवारी सञ्चालनको तयारी प्रभावित भएको थियो। अहिले सुरुङभित्र सडक पिच गर्ने काम सकिएको छ भने रङरोगन भइरहेको छ। टेक्निकल भवनको फिनिसिङ पनि भइरहेको छ। सुरुङको लाइनिङ तथा अन्य सिभिल संरचनाको काम भने यसअघि नै पूरा भइसकेको छ।

    अब मुख्य रूपमा विद्युतीय तथा यान्त्रिक प्रणाली जडानको काम बाँकी रहेको आयोजना प्रमुख बाँस्तोलाले बताए। निर्माण सामग्री आएपछि बाँकी कामलाई गति दिइने उनको भनाइ छ।

    योजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सौम्य आनन्दका अनुसार आयोजनाको भौतिक प्रगति ६९ दशमलव ७० प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ५५ प्रतिशत पुगेको छ। मुख्य सुरुङसहित बाइपास सुरुङ खन्ने, लाइनिङ, १४ वटा कल्भर्ट र सुरुङभित्रको प्रिमेन्टको काम पूरा भइसकेको छ। तीनवटा बाइपाससमेत निर्माण भएका छन्।

    सुरुङभित्रको काम पूरा भएपछि बाहिरी सडक क्षेत्रलाई सुरक्षित बनाउने काम अघि बढाइनेछ। पहिरो र ढुङ्गा खस्ने जोखिम कम गर्न रकसेड, रकफल ब्यारेयर तथा स्लोप प्रोटेक्सन निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ।

    एक हजार १२६ मिटर लामो सुरुङमार्ग निर्माणका लागि २०७८ फागुनमा ठेक्का सम्झौता भएको थियो। २०७९ सालदेखि निर्माण सुरु भएको आयोजनाको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारमा लिएको हो।

    सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्मको क्षेत्र अत्यधिक पहिरो जाने क्षेत्रका रूपमा चिनिन्छ। वर्षायाममा मात्र नभई सुक्खायाममा समेत ढुङ्गा र सुक्खा पहिरो खस्ने भएकाले यस क्षेत्रमा सुरुङमार्ग निर्माण गरिएको हो।

    सरकारको आफ्नै स्रोतमा निर्माण भइरहेको सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने जोखिमका कारण हुने यात्रा अवरोध कम हुने अपेक्षा गरिएको छ। यसबाट लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा र प्यूठान तथा गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij