भक्तपुरमा एक महिनामै १७९ अपराधसम्बन्धी मुद्दा दर्ता

भक्तपुरमा एक महिनामै १७९ अपराधसम्बन्धी मुद्दा दर्ता

आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • भक्तपुरमा एक महिनामै १७९ अपराधसम्बन्धी मुद्दा दर्ता

    भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी १७९ वटा मुद्दा दर्ता गरेको छ । दर्ता भएका मुद्दामध्ये ५७ वटा फछ्र्योट भएका छन् ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार एक महिनाको अवधिमा जघन्य अपराधतर्फ एक, जबर्जस्ती करणीका पाँच, लागुऔषधका तीन तथा हातहतियार खरखजनासम्बन्धी एक मुद्दा दर्ता भएका छन् ।

    आर्थिक अपराधतर्फ सबैभन्दा बढी मुद्दा दर्ता भएका छन् । आर्थिक अपराधका ९६ मुद्दामध्ये बैंकिङ कसुरका ७७ र ठगीका १९ वटा छन् । प्रहरीले १२ वर्ष पुरानो सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई समेत पक्राउ गरेको छ ।

    अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका ६५ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई कुल ४४ वर्ष छ महिना तीन दिन कैद सजाय भुक्तानका लागि पठाइएको छ । यस क्रममा एक करोड २२ लाख १९ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित नौ वटा मुद्दा दर्ता भएका छन् भने घरेलु हिंसाका १३ वटा उजुरी परेका छन् । भदौ महिनामा भक्तपुरमा २३ वटा सवारी दुर्घटना भएका छन् ।

    दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ९४७ सवारी चालकलाई कारबाही गरी प्रहरीले १३ लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । प्रहरीले सृजनानगरबाट १९ वर्षीय रामकृष्ण शर्माको साथबाट १२ राउन्ड अवैध गोलीसमेत बरामद गरेको छ ।

    कर्तव्य ज्यान मुद्दामा चाँगुनारायणका राकेश पराजुली र भक्तपुरका किशोर चौगुठीलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपककुमार कार्कीले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij