नवाकोट । नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाएर माघेसङ्क्रान्ति पर्वका मनाइएको छ । गोरु जुधाइलाई प्रतियोगिता र प्रतिस्पर्धा गरेर पर्व मनाउने पुरानो शैलीलाई निरन्तरता दिँदै यस वर्ष पनि नुवाकोटको तारुका, बेत्रावती, पञ्चकन्या, शेराबगरलगायत स्थानमा गोरु जुधाइएको हो ।
गोरु जुधाइ मेलाका लागि नेपालमै उद्गमस्थल मानिएको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा १७ हल र विदुर नगरपालिका–१० स्थित रसुवाको सङ्गमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाइएको छ । पञ्चकन्या गाउँपालिका–३ पीपलडाँडामा आठहल र शिवपुरी गाउँपालिका–५ शेराबगरमा चारहल गोरु जुधाएर माघेसङ्क्रान्ति पर्व मनाउने नुवाकोटको फरक शैलीलाई निरन्तरता दिइएको हो ।
शिवपुरी गाउँपालिका–५ शेराबगरमा आयोजित गोरु जुधाइ तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले विकासका लागि किसानलाई प्रेरणा गर्ने कार्यक्रमलाई राज्यले प्राथमिकता दिएको बताए । उनका अनुसार किसानलाई अनुदानमार्फत सक्षम बनाउन उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याइएको छ ।
तत्कालीन बझाङी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आएको समयमा विसंं १८८७ मा मनोरञ्जन दिन गोरु जुधाएर देखाइएको र त्यसलाई निरन्तरता दिन थालिएको माघेसङ्क्रान्ति गोरुजुधाइ महोत्सव व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिए । उनका अनुसार किसानले ठाउँठाउँमा स्वःस्फूर्तरुपमा जुधाउने गोरुलाई विसं २०६२ देखि समितिमार्फत व्यवस्थितरुपमा प्रतियोगिताका रुपमा सञ्चालनमा ल्याइएको हो ।
माघेसङ्क्रान्ति पर्वका अवसरमा बेत्रावतीमा आयोजित गोरु जुधाइ पर्वलाई सांस्कृतिक महोत्सवका रुपमा थप बृहत् बनाउँदै लगिएको छ । बेत्रावतीमा २०५३ सालदेखि गोरु जुधाउन सुरु भए पनि २०६७ देखि स्थानीय बेत्रावती युवा क्लबले नेतृत्व लिएर प्रतियोगिताका रुपमा व्यवस्थित गरेको संयोजक सुरज लवटले जानकारी दिए ।
उनका अनुसार नेपाल र भोट चीनबीच भएको युद्धअन्तर्गत विसंं १८४९ मा बेत्रावतीमा भएको सन्धिपश्चात् नेपाली पक्षको जीतको उत्सवमा तत्कालीन समयमा गोरु जुधाएको स्मरणमा निरन्तरता दिइएको हो । तारुका र बेत्रावतीको गोरु जुधाइ परम्पराको सुरुआतको तथ्यमा इतिहासविद्को भने फरक(फरक राय पाइन्छ ।