चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत २० हजारी ताल र कुमाल ताल क्षेत्रमा जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत फेला परेको छ।
सौराहा–खोरसोर नजिक रहेको चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रको भरपर्दो जंगली भाले हात्तीका रूपमा परिचित रोनाल्डो आज बिहान मृत अवस्थामा भेटिएको हो।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार हात्ती मृत फेला परेको प्रारम्भिक जानकारी प्राप्त भए पनि घटनाबारे थप विवरण आउन बाँकी छ।
करिब २४ वर्षअघि सौराहा क्षेत्रमा देखिएको रोनाल्डोको उमेर ५३ वर्ष रहेको बताइएको छ। लामो समयदेखि चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासको क्षेत्रमा एक्लै विचरण गर्दै आएको यो हात्तीले प्रजनन केन्द्रमा मात्रै ३३ वटा बच्चा जन्माउन योगदान गरेको थियो।
मृत अवस्थामा भेटिएको स्थानमा बिजुलीको पोल ढलेको पाइएको छ। त्यसैले रोनाल्डोको मृत्यु करेन्ट लागेर भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान तथा परीक्षणपछि मृत्युको वास्तविक कारण खुल्नेछ।
निकुञ्जका अनुसार रोनाल्डोको आक्रमणबाट अहिलेसम्म १५ जनाको मृत्यु भएको छ।