संविधानको पूर्ण कार्यान्वयनमा तीनै तहका सरकार सक्रिय हुनुपर्नेमा जोड

संविधानको पूर्ण कार्यान्वयनमा तीनै तहका सरकार सक्रिय हुनुपर्नेमा जोड

शनिवार, आश्विन ३ २०८३
शनिवार, आश्विन ३ २०८३
  • संविधानको पूर्ण कार्यान्वयनमा तीनै तहका सरकार सक्रिय हुनुपर्नेमा जोड

    काठमाडौं । संविधान दिवसका अवसरमा संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन र नागरिकका अधिकारलाई व्यवहारमै स्थापित गर्न तीनै तहका सरकार सक्रिय हुनुपर्नेमा जोड दिइएको छ ।

    संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकार संविधानको अक्षर र भावनाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । उनले सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको दाबी गरे ।

    सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शाह, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षसहित संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

    यस्तै, संविधान दिवसका अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानले प्रदान गरेका अधिकार नागरिकले दैनिक जीवनमै अनुभूति गर्ने गरी कार्यान्वयन गर्नु तीनै तहका सरकारको साझा जिम्मेवारी भएको बताएका छन् ।

    शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री थापाले संविधानको अक्षरशः पालना गर्दै प्रदेश सरकार सुशासन, उत्तरदायी सेवा प्रवाह, सामाजिक न्याय र समावेशी विकासमार्फत समृद्ध प्रदेश निर्माणमा प्रतिबद्ध रहेको बताए । प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्न प्रदेश सरकार क्रियाशील रहेको पनि उनले उल्लेख गरेका छन् ।

    यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधानको समीक्षा गर्दा सीमान्तकृत तथा राज्यको पहुँचबाट पछाडि परेका नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताएका छन् । उनले संविधानलाई अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करारका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

    २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र मौलिक हकसहितको नेपालको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij