बेपत्ताको शव पहिचान गर्न डीएनए परीक्षणको व्यवस्था, आफन्तले यसरी दिन सक्नेछन् नमुना

बेपत्ताको शव पहिचान गर्न डीएनए परीक्षणको व्यवस्था, आफन्तले यसरी दिन सक्नेछन् नमुना

सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • बेपत्ताको शव पहिचान गर्न डीएनए परीक्षणको व्यवस्था, आफन्तले यसरी दिन सक्नेछन् नमुना

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकको शव वा शरीरका अंग पहिचान गर्न सरकारले डीएनए परीक्षणको व्यवस्था गरेको छ । बाढीपछि फेला परेका शव तथा शरीरका अंगको डीएनए प्रोफाइल बेपत्ता व्यक्तिका आफन्तको डीएनएसँग तुलना गरी पहिचान सुनिश्चित गर्ने उद्देश्यले प्रक्रिया अघि बढाइएको हो ।

    प्रहरीका अनुसार नेपालमा रहेका बेपत्ता व्यक्तिका नजिकका रक्तसम्बन्धी आफन्तमध्ये बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले डीएनए परीक्षणका लागि नमुना दिन सक्नेछन् । त्यसका लागि सम्बन्धित व्यक्तिको फ्रेस ब्लड स्याम्पल र दुई प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ ।

    नमुना दिन चाहने आफन्तले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको ल्याब वा आफूलाई पायक पर्ने नजिकैको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

    त्यस्तै, बेपत्ता व्यक्तिका आफन्त विदेशमा रहेको अवस्थामा उनीहरूले सम्बन्धित देशमै डीएनए प्रोफाइलिङ गराएर त्यसको सफ्टकपी नेपाल पठाउन सक्ने व्यवस्था गरिएको छ । विदेशमा रहेका आफन्तमध्ये पनि बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको डीएनए प्रोफाइलिङ गराउन सकिने प्रहरीले जनाएको छ ।

    विदेशमा गरिएको डीएनए प्रोफाइलिङको सफ्टकपी नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन अनुरोध गरिएको छ ।

    बाढीपछि फेला परेका कतिपय शव तथा शरीरका अंग पहिचान गर्न कठिनाइ भइरहेका बेला आफन्तबाट संकलन गरिएको डीएनए नमुनालाई फेला परेका शवको नमुनासँग तुलना गरी पहिचान गर्ने प्रक्रिया अघि बढाइनेछ ।

    प्रहरीका अनुसार बाढीमा परी ९०० भन्दा बढीको शव फेला परिसकेको छ भने ४ हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता छन् । बेपत्ताको संख्या ठूलो रहेकाले फेला परेका शव तथा शरीरका अंगको पहिचानका लागि डीएनए परीक्षणलाई महत्वपूर्ण माध्यमका रूपमा अघि बढाइएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij