बाढीपीडितको उद्धार र राहतका लागि एडीबीको ५० लाख डलर अनुदान

बाढीपीडितको उद्धार र राहतका लागि एडीबीको ५० लाख डलर अनुदान

शनिवार, भाद्र १३ २०८३
शनिवार, भाद्र १३ २०८३
  • बाढीपीडितको उद्धार र राहतका लागि एडीबीको ५० लाख डलर अनुदान

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले भोटेकोसी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलर, अर्थात् करिब ७६ करोड रुपैयाँ बराबरको अनुदान स्वीकृत गरेको छ।

    एडीबीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार अनुदान रकम खोज तथा उद्धारका सामग्री, औषधि, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय, सरसफाइ सामग्री तथा आपत्कालीन पूर्वाधार निर्माणलगायतका काममा खर्च गरिनेछ।

    एडीबीका अध्यक्ष मासातो कान्दाले विपद्का बेला सहयोगका लागि पर्खन नसकिने उल्लेख गर्दै बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउन उक्त अनुदानले सहयोग पुग्ने बताएका छन्।

    उनले प्रभावित समुदायका नागरिकलाई खाद्यान्न, सुरक्षित खानेपानी, आश्रय र औषधिजस्ता अत्यावश्यक सामग्री शीघ्र उपलब्ध गराउन एडीबीले नेपाल सरकारसँग सहकार्य गरिरहेको बताएका छन्।

    एडीबीले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संयुक्त राष्ट्रसंघीय निकाय र अन्य विकास साझेदारसँग समन्वय गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका काममा सहयोग गरिरहेको जनाएको छ।

    त्यसैगरी, विपद्पछिको आवश्यकता मूल्यांकन, पुनःस्थापना योजना तथा सम्भावित पुनःनिर्माणका लागि थप एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाइएको एडीबीले जनाएको छ।

    भोटेकोसी र त्रिशूली नदी प्रणालीमा आएको बाढीले प्रभावित क्षेत्रमा जनधन तथा पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन एडीबीले उक्त आपत्कालीन अनुदान स्वीकृत गरेको हो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij