काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)का निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका रिटर्नी उद्यमीहरूको सीप, अनुभव र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणको आधार बनाउनुपर्ने बताएका छन् ।
नेपाल–कोरिया उद्यमी व्यवसायी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै ढकालले नेपाल–कोरिया सम्बन्ध कूटनीतिक र सांस्कृतिक सम्बन्धमा मात्र सीमित नभई आर्थिक तथा व्यावसायिक साझेदारीको महत्वपूर्ण आधार बनेको बताए ।
उनले कोरियामा काम गरेर फर्किएका हजारौं नेपाली युवाले हासिल गरेको सीप, प्रविधिको ज्ञान, कार्यसंस्कृति र पुँजीलाई स्वदेशमै उद्यम तथा रोजगारी सिर्जनामा उपयोग गर्नुपर्नेमा जोड दिए ।
कोरियाले केही दशकको अवधिमा गरिबीबाट औद्योगिक शक्तिका रूपमा गरेको रूपान्तरणबाट नेपालले धेरै कुरा सिक्न सक्ने उनको भनाइ थियो । अनुशासित कार्यसंस्कृति, गुणस्तरीय उत्पादन, प्रविधिको प्रयोग, निर्यातमुखी उत्पादन तथा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई नेपालले पनि प्राथमिकतामा राख्नुपर्ने उनले बताउए ।
“रिटर्नी उद्यमीहरूले सिकेको अनुशासन र उत्पादकत्वमा आधारित कार्यसंस्कृति स्वदेशी उद्योगमा लागू गर्न सके नेपालको औद्योगिक चरित्र नै परिवर्तन हुन सक्छ,” ढकालले भने ।
नेपालमा जलविद्युत्, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधि तथा साना–मझौला उत्पादनमूलक क्षेत्रमा ठूलो लगानी सम्भावना रहेको उल्लेख गर्दै उनले भारत र चीनसँगको भौगोलिक निकटता तथा सुधार हुँदै गएको लगानी वातावरणले नेपाललाई क्षेत्रीय उत्पादन केन्द्रका रूपमा विकास गर्ने अवसर प्रदान गरेको बताए ।
लगानीमैत्री नीति, प्रक्रियागत सहजता र एकद्वार सेवाका लागि निजी क्षेत्रले सरकारसँग निरन्तर संवाद गरिरहेको बताउँदै उहाँले लगानी वातावरण सुधारको अभियानलाई थप तीव्र बनाउनुपर्ने आवश्यकता औंल्याए ।
ढकालले देशभर छरिएर रहेको साना पुँजीलाई एकीकृत गरी ठूला आयोजनामा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको जानकारी पनि दिए । नयाँ व्यवसाय सुरु गर्न चाहने रिटर्नी उद्यमीका लागि कम्पनीले लगानी साझेदार बन्न सक्ने र सानो पुँजी भएका लगानीकर्ताले नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडमार्फत लगानी गर्न सक्ने उनले बताए ।
स्वदेशमा उद्यम स्थापना गर्दा देखिने कानुनी तथा प्रक्रियागत अवरोध हटाउन सरकार, निजी क्षेत्र र सरोकारवालाबीच नियमित संवाद आवश्यक रहेको उनको भनाइ थियो ।
ढकालले रिटर्नी उद्यमीहरूको सीप र लगानीमार्फत स्वदेशमा उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक समृद्धिको नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गर्दै एफएनसीसीआई र आइएमई ग्रुपका तर्फबाट आवश्यक सहयोग र सहकार्यका लागि प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत, कोरियाली दूतावासका कर्मचारी, नेपाल सरकारका प्रतिनिधि, रिटर्नी माइग्रेन्ट तथा विभिन्न क्षेत्रका उद्यमी–व्यवसायीहरूको सहभागिता रहेको थियो ।