भक्तपुर राधेराधेको भाटभटेनी आजदेखि २४ शै घण्टा खुल्ने

भक्तपुर राधेराधेको भाटभटेनी आजदेखि २४ शै घण्टा खुल्ने

आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • भक्तपुर राधेराधेको भाटभटेनी आजदेखि २४ शै घण्टा खुल्ने

    काठमाडौं । रातको समयमा बजार सुनसान हुँदै जाँदा अधिकांश पसलका सटर बन्द हुन्छन् । तर अब काठमाडौं उपत्यकामा भने किनमेलका लागि रात पर्नु बाधक नहुने भएको छ । नेपालकै ठूलो खुद्रा व्यापारिक चेनमध्ये एक भाटभटेनी सुपरस्टोरले भक्तपुरको राधेराधेस्थित स्टोरबाट चौबिसै घण्टा सेवा सञ्चालनमा ल्याउने तयारी गरेसँगै नेपाली खुद्रा बजारमा नयाँ अभ्यास सुरु हुन लागेको छ ।

    भाटभटेनीले प्रारम्भिक चरणमा भक्तपुर स्टोरबाट २४ घण्टा सेवा सुरु गर्नेछ । रातको समयमा भने स्टोरको पहिलो तला मात्रै सञ्चालनमा रहनेछ, जहाँ मुख्यतः दैनिक उपभोग्य तथा ग्रोसरी सामग्री उपलब्ध हुनेछन् । अन्य विभाग तथा सेवा भने नियमित समयअनुसार नै सञ्चालन हुनेछन् ।

    कम्पनीका अनुसार यो निर्णय केवल स्टोरको समय बढाउने विषय मात्र होइन, बदलिँदो ग्राहक व्यवहार र आवश्यकताअनुसार खुद्रा सेवाको स्वरूप परिवर्तन गर्ने प्रयास पनि हो ।

    राति पनि किनमेलको आवश्यकता

    परम्परागत रूपमा नेपालमा अधिकांश पसल बिहानदेखि साँझसम्म सञ्चालन हुँदै आएका छन् । तर शहरको जीवनशैली विस्तारै बदलिँदै गएको छ । अनियमित कार्यसमयमा काम गर्ने कर्मचारी, राति यात्रा गर्ने यात्रु, बिहानै काममा निस्कनुपर्ने व्यक्ति तथा दिनभर व्यस्त रहने उपभोक्ताका लागि किनमेलको समय सीमित हुनु समस्या बन्न सक्छ ।

    यही अवस्थालाई ध्यानमा राखेर भाटभटेनीले २४/७ ग्रोसरी सेवा सुरु गर्न लागेको जनाएको छ । भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार सबै ग्राहकको किनमेल गर्ने समय एउटै हुँदैन । ग्राहकको बदलिँदो समय र आवश्यकतालाई सम्बोधन गर्न २४ घण्टा सेवा सुरु गर्न लागिएको हो । “यो सोचविचार गरेर चालिएको पहिलो कदम हो ।

    ग्राहकको प्रतिक्रिया र सञ्चालनको प्रभावकारितालाई नजिकबाट नियाल्दै जानेछौं,” पौडेलले बताएका छन् । यसले राति आकस्मिक रूपमा घरायसी सामान आवश्यक पर्ने परिवारदेखि बिहानै काममा जाने व्यक्तिसम्मलाई आफ्नो सुविधाअनुसार किनमेल गर्ने अवसर दिनेछ ।

    सेवा सुरु गर्नुअघि ‘परीक्षण’

    चौबिसै घण्टा स्टोर सञ्चालन गर्नु सामान्य समय विस्तारजस्तो देखिए पनि यसको पछाडि ठूलो सञ्चालन व्यवस्थापन आवश्यक हुन्छ । भाटभटेनीले भक्तपुर स्टोरमा करिब एक सातासम्म आन्तरिक परीक्षणसमेत गरेको थियो ।

    परीक्षणका क्रममा रातको समयमा सामान प्राप्त गर्ने, र्‍याक तथा सेल्फमा सामान पुनः भर्ने, स्टक व्यवस्थापन, सरसफाइ तथा अन्य ब्याकएन्ड गतिविधि सञ्चालन गरेर प्रणाली र जनशक्ति व्यवस्थापनको परीक्षण गरिएको कम्पनीले जनाएको छ । यसले राति ग्राहकको चाप कम भए पनि स्टोरभित्रको आपूर्ति र व्यवस्थापन प्रक्रिया भने निरन्तर चलिरहनुपर्ने चुनौतीलाई देखाउँछ ।

    रातको समयमा पहिलो तला मात्र सञ्चालन हुने भएकाले कर्मचारी संख्या पनि तुलनात्मक रूपमा कम राखिनेछ । यसले अतिरिक्त सञ्चालन खर्चलाई नियन्त्रणमा राख्दै सेवा सञ्चालन गर्न कम्पनीलाई सहज हुने अपेक्षा गरिएको छ ।

    भक्तपुरपछि ललितपुर र काठमाडौं

    भक्तपुरमा सुरु हुने २४ घण्टे सेवा परीक्षण सफल भएमा भाटभटेनीले काठमाडौं उपत्यकाका थप दुई स्टोरमा विस्तार गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार भक्तपुर स्टोर सञ्चालनमा आएको करिब एक सातापछि ललितपुरको कृष्णगल्लीस्थित स्टोर र त्यसपछि काठमाडौंको टंगालस्थित स्टोरलाई पनि चौबिसै घण्टा सञ्चालनमा ल्याउने योजना छ ।

    उपत्यकाका तीन स्टोरमा सेवा सञ्चालनको अनुभव लिएपछि पोखराको एउटा स्टोरमा पनि २४ घण्टे सेवा विस्तार गर्ने कम्पनीको योजना छ । यसले भाटभटेनीको २४/७ सेवा तत्काल सबै स्टोरमा लागू गर्नेभन्दा पनि चरणबद्ध रूपमा बजार परीक्षण गर्दै विस्तार गर्ने रणनीति रहेको देखाउँछ ।

    रातको बजार र सुरक्षाको प्रश्न

    रातभर खुद्रा स्टोर सञ्चालन गर्दा ग्राहक सुविधा मात्रै होइन, सुरक्षा पनि महत्वपूर्ण पक्ष हुन्छ । कम्पनीले चौबिसै घण्टा सेवा सुरु गर्नुअघि आफ्नै सुरक्षा व्यवस्था थप मजबुत बनाएको जनाएको छ । रातको समयमा ग्राहक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापन सुदृढ गरिएको छ ।

    साथै, स्टोर चौबिसै घण्टा सञ्चालन हुने विषयमा प्रहरी तथा स्थानीय प्रशासनलाई समेत जानकारी गराइएको कम्पनीले जनाएको छ । नेपालमा ठूलो खुद्रा स्टोरलाई रातभर सञ्चालन गर्ने अभ्यास अझै व्यापक नभएकाले यसको सुरक्षा व्यवस्थापन आगामी दिनमा महत्वपूर्ण परीक्षण बन्नेछ ।

    क्षतिपछि नयाँ चरणको सुरुवात

    भाटभटेनीका लागि २४ घण्टा सेवा विस्तारको निर्णय त्यतिमै सीमित छैन । यो कम्पनीले ठूलो क्षति व्यहोरेपछि पुनः विस्तार र सञ्चालनमा जोड दिएको समयसँग पनि जोडिएको छ । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका अधिकांश स्टोरमा आगजनी, लुटपाट तथा तोडफोड भएको थियो। त्यसबाट कम्पनीले अर्बौं रुपैयाँ बराबरको क्षति व्यहोरेको जनाएको छ ।

    ठूलो क्षति भए पनि कर्मचारीको रोजगारी कटौती नगरी पुनः लगानी गरेर अधिकांश स्टोर सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ । यही पृष्ठभूमिमा २४/७ सेवाको सुरुवातलाई कम्पनीको पुनः सञ्चालनबाट नयाँ बजार रणनीतितर्फको कदमका रूपमा पनि हेर्न सकिन्छ ।

    ४२ वर्षको यात्रामा बदलिँदो बजार

    करिब ४२ वर्षअघि व्यवसायी मिनबहादुर गुरुङले काठमाडौंको टंगालबाट सुरु गरेको भाटभटेनी अहिले देशभर २७ वटा स्टोरसम्म विस्तार भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वार्षिक कारोबार करिब ३२ अर्ब रुपैयाँ रहेको छ भने सबै स्टोरमा गरी २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    सानो खुद्रा व्यवसायबाट सुरु भएको भाटभटेनीको यात्रा अहिले ठूलो सुपरमार्केट चेनसम्म पुगेको छ । अब चौबिसै घण्टा सञ्चालनको अभ्यासले नेपाली खुद्रा बजारमा अर्को परिवर्तनको संकेत गरेको छ ।

    ग्राहकको समयअनुसार बजार बदलिँदै

    ‘सेभ टाइम, सेभ मनी–नाउ २४/७’ नारासहित सुरु गर्न लागिएको यो सेवाको वास्तविक सफलता भने ग्राहकको प्रतिक्रियाले निर्धारण गर्नेछ । रातको समयमा पर्याप्त ग्राहक आउनेछन् कि छैनन् ? २४ घण्टा सञ्चालनको अतिरिक्त लागतले व्यवसायलाई कति प्रभाव पार्छ ? राति कर्मचारी व्यवस्थापन र सुरक्षा कति प्रभावकारी हुन्छ ? र ग्राहकले यसलाई नियमित रूपमा प्रयोग गर्छन् कि विशेष परिस्थितिमा मात्र?

    यी प्रश्नको उत्तर आगामी केही साताको सञ्चालनपछि स्पष्ट हुँदै जानेछ । तर एउटा कुरा भने स्पष्ट छ—खुद्रा बजार अब केवल ‘कहाँ किनमेल गर्ने?’ भन्ने प्रश्नमा सीमित छैन; ‘कहिले किनमेल गर्ने?’ भन्ने ग्राहकको रोजाइ पनि व्यवसायको रणनीतिक विषय बन्न थालेको छ ।

    भक्तपुरबाट सुरु हुन लागेको भाटभटेनीको २४/७ यात्रा सफल भएमा यसले नेपालका अन्य खुद्रा व्यवसायलाई पनि सञ्चालन समय, ग्राहक सेवा र बजार रणनीतिबारे पुनर्विचार गर्न प्रेरित गर्न सक्छ । रातको शहर विस्तारै जाग्दै जाँदा बजार पनि त्यसैअनुसार जागा रहने संकेत भाटभटेनीको यो नयाँ पहलले दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij