काठमाडौँ । जाडो महिनामा सङ्ख्यात्मक रूपमा कम चलचित्र छायाङ्कन हुने गर्दछन् । दिन छोटे हुने र चिसोले गर्दा पुस माघलाई चलचित्र छायाङ्कनका लागि उपयुक्त मानिँदैन । त्यसका अलवा दृश्याङ्कन गर्दा बाक्लो कुहिरो अर्थात् हुस्सुले समेत प्रभाव पर्छ । तर, यसवर्ष मध्ये जाडोमा पनि चार चलचित्रको छायाङ्कन भइरहेका छन् ।
त्यसरी छायाङ्कन भइरहेको चलचित्र मध्ये एक हो, ‘११ः५५’ । केशव पाण्डेको कथा र निर्देशनमा छायाङक्न भइरहेको सो चलचित्रमा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय गरिरहेका छन् । यसको अन्तिम चरणको काम भइरहेको बताइएको छ । यस चलचित्रको पटकथा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले लेखेका छन् ।
यस्तै चलचित्र ‘मनसरा’को पनि काठमाडौँमा छायाङ्कन भइरहेको छ । उपेन्द्र सुब्बाको निर्देशनमा तयार भइरहेको सो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानलगायतका कलाकारले अभिनय गरिरहेका छन् । यसको शीर्ष भूमिकामा अभिनेत्री मगर रहेकी छिन् । रामबाबु गुरुङको निर्देशनमा तयार भइरहेको चलचित्र ‘डिग्री माइला ः एमए थर्ड क्लास’को दोस्रो चरणको छायाङ्कन ओखलढुङगास्थित रुम्जाटारमा भइरहेको छ ।
चलचित्रमा अभिनेता दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायतका कलाकारले अभिनय गरिराखेका छन् । शैक्षिक बेरोजगारीले युवामा पारेको मनोवैज्ञानिक प्रभावलाई चलचित्रको शैलीमा प्रस्तुत गरिएको निर्देशक गुरुङले जानकारी दिए । विसं २०८१ वैशाख १ गते प्रदर्शन घोषणा गरिएका कारण पनि सो चलचित्र छिट्टै सकाउनुपर्ने दबाब निर्माण पक्षलाई छ ।
चलचित्र ‘फर्की फर्की’को पहिलो चरणको छायाङ्कन पोखरामा सकिएको र काठमाडौँसँगै बाँकी काम छिट्टै सुरु गरिने निर्माता रोहित अधिकारीले जानकारी दिए । सुयोग गुरुङको निर्देशनमा बन्ने चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, संवृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मालगायतका कलाकारले अभिनय रहेको छ । यो चलचित्र २०८१ को जेठ ११ गते प्रदर्शन गर्ने समय तय गरिएको निर्माता अधिकारीले जानकारी दिए ।