काठमाडौं । सन् २०२० यता विश्वका सबैभन्दा धनी पाँच व्यक्तिको सम्पत्ति दोब्बर भएको छ ।बेलायती परोपकारी संस्था अक्सफ्यामले सोमबार एक रिपोर्ट सार्वजनिक गर्दै विगत चार वर्षमा पाँच धनाढ्यको सम्पत्ति प्रतिघण्टा एक करोड ४० लाख अमेरिकी डलरले बढेको उल्लेख गरेको छ ।
विश्वका पाँच धनाढ्य बर्नार्ड अर्नाल्ट, जेफ बेजोस, वारेन बफेट, ल्यारी एलिसन र एलोन मस्कको सम्पत्ति हाल ८६९ अर्ब अमेरिकी डलर पुगेको सो रिर्पोटमा उल्लेख छ । सन् २०२० यता यी पाँच व्यक्तिको सम्पत्ति दोब्बर हुँदा पाँच अर्ब मानिस झन् गरिब भएको अक्सफ्यामले असमानता इँक प्रतिवेदन सार्वजनिक गर्दै बताएको छ।
अक्सफ्यामको रिर्पोट अनुसार अर्बपतिहरू सन् २०२० को तुलनामा ३.४ ट्रिलियन अमेरिकी डलरले धनी भएका छन् । संसारका १० ठूला कम्पनीमध्ये सात वटा यीनै धनाढ्यका छन् । यहीँ प्रवृत्ति जारी रहे एक दशक भित्रै संसारमा पहिलो ‘ट्रिलियनियर’ व्यक्ति हुने र गरिबी उन्मुलन हुन २२९ वर्ष लाग्ने अक्सफ्यामको रिर्पोटले जनाएको छ ।
अक्सफ्याम इन्टरनेशनलका अन्तरिम कार्यकारी निर्देशक अमिताभ बेहरले कसैसँग पनि एक अर्ब डलर सम्पत्ति हुन नहुने बताएका छन् । अक्सफ्यामले विश्व आर्थिक फोरम डब्ल्यूईएफ सम्मेलनअघि आफ्नो रिपोर्ट सार्वजनिक गर्दै आएको छ । यस वर्षको वर्ल्ड इकोनोमिक फोरमको बैठक स्विट्जरल्याण्डको डाभोसमा आज देखि शुक्रबारसम्म हुँदैछ।