पूर्वी नेपालमा स्वास्थ्य सेवाको नयाँ फड्को, विराट मेडिकल कलेजमा पहिलो पटक हेमोपफ्र्युजन र प्लाज्माफेरेसिस उपचार

पूर्वी नेपालमा स्वास्थ्य सेवाको नयाँ फड्को, विराट मेडिकल कलेजमा पहिलो पटक हेमोपफ्र्युजन र प्लाज्माफेरेसिस उपचार

बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • पूर्वी नेपालमा स्वास्थ्य सेवाको नयाँ फड्को, विराट मेडिकल कलेजमा पहिलो पटक हेमोपफ्र्युजन र प्लाज्माफेरेसिस उपचार

    विराटनगर । पूर्वी नेपालका बिरामीहरूका लागि राहत र आशाको खबर आएको छ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलो पटक अत्याधुनिक हेमोपफ्र्युजन र प्लाज्माफेरेसिस उपचार सेवा सञ्चालनमा ल्याएको छ ।

    यी दुवै उपचार पद्धति बिरामीको रगतमा रहेका हानिकारक पदार्थहरू हटाई रगतलाई शुद्ध बनाउने आधुनिक प्रविधिमा आधारित छन् । अस्पतालका अनुसार यस सेवाको सुरुवातसँगै जटिल प्रकृतिका बिरामीहरूले अब उपचारका लागि काठमाडौं वा भारत धाउनुपर्ने बाध्यता धेरै हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ ।

    हेमोपफ्र्युजन उपचारमा बिरामीको रगतलाई विशेष प्रकारको फिल्टरमार्फत प्रवाह गराई विषाक्त पदार्थ, हानिकारक औषधिको असर तथा विभिन्न रासायनिक तत्वहरू हटाइन्छ। यो विधि विशेषगरी विष सेवन, ड्रग ओभरडोज तथा गम्भीर संक्रमणका बिरामीहरूको उपचारमा प्रभावकारी मानिन्छ ।

    त्यसैगरी, प्लाज्माफेरेसिस उपचारमा रगतको प्लाज्मा भागबाट रोग उत्पन्न गर्ने हानिकारक एन्टिबडी तथा विषाक्त तत्वहरू छुट्याएर हटाइन्छ । यो प्रविधि विशेष गरी स्नायु प्रणालीसँग सम्बन्धित जटिल रोग तथा मिर्गौला सम्बन्धी गम्भीर समस्याहरू भएका बिरामीहरूको उपचारमा प्रयोग गरिन्छ ।

    विराट मेडिकल कलेज टिचिङ हस्पिटलका कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट तथा क्रिटिकल केयर फिजिसियन डा। दीपक पौडेलका अनुसार यी दुवै सेवा सञ्चालनमा आएपछि पूर्वी नेपालका बिरामीहरूले विश्वस्तरीय उपचार आफ्नै क्षेत्रमा प्राप्त गर्ने अवसर पाएका छन् । डा। पौडेलले भने, ‘हेमोपफ्र्युजन र प्लाज्माफेरेसिस जस्ता अत्याधुनिक सेवाको उपलब्धताले पूर्वी नेपालका बिरामीलाई काठमाडौं वा भारतसम्म पुग्नुपर्ने बाध्यता कम गर्नेछ । यसले उपचारको पहुँच बढाउनुका साथै बिरामी र उनका परिवारमाथि पर्ने आर्थिक तथा शारीरिक बोझ पनि घटाउनेछ ।’

    अस्पतालले सुरु गरेको यो सेवा पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसबाट विशेषगरी जटिल तथा आकस्मिक अवस्थाका बिरामीहरूले छिटो, गुणस्तरीय र प्रभावकारी उपचार पाउने विश्वास गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij