काठमाडौं । देशका विभिन्न स्थानमा आज मेघगर्जन, चट्याङसहित वर्षा तथा केही क्षेत्रमा हुरी चल्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने अन्य प्रदेशमा आंशिक बदली रहेको विभागले जनाएको छ ।
हाल गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । साथै, कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।
आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली रहने तथा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा राति हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।