पाटन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विधि र कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् ।
पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा आज उनले सामाजिक प्रतिष्ठालाई सफलताको मानक बनाउनेभन्दा कानुन बनाउने जिम्मेवारी लाग्न निर्देशनसमेत दिए ।
सभापति लामिछानेले देशमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको र पार्टी नेतृत्वको सरकार जनताको हितभन्दा बाहिर नजाने प्रष्ट पारे । “सरकारले सोचेर कदम चालिरहेको छ, आजसम्म सरकारले गरेका निर्णयबाट दुःख मनाउन गर्नुपर्ने अवस्था छैन”, उनले भने,“कतिपय कानुन निर्माणलाई ‘फास्ट ट्र्याक’मा लिएर जान अध्यादेश ल्याइएको हो । नीतिगत कमजोरी सुधार र विकासका काममा गति दिन अध्यादेश ल्याइएकाले देश र नागरिकलाई अप्ठ्यारो पर्ने कुनै निर्णय गरेका छैनौँ । हामी जनताको माया र देशको भविष्यप्रति चिन्तित छौँ ।”
सभापति लामिछानेले नेपाली जनताले परिवर्तनका लागि रास्वपालाई जनमत दिएको भन्दै चुनाव जित्दैमा सर्वगुण सम्पन्न छौँ भनेर नसोच्न सांसदहरूलाई आग्रह गरे । उनले विगतमा अन्य नीहरू जस्तो धेरै सङ्घर्ष गर्नुपरेको छैन”, उनले भने,“हिजो व्यवस्था बदलियो तर अवस्था नबदलिएकाले जनताले हामीलाई पत्याएका हुन् । विभिन्न राजनीतिक दलमा आस्थावानहरूले आफ्नो दल छोडेर हामीलाई मत दिएका छन्, त्यसैले कसैको मानमर्दन गर्नुहुँदैन ।”
सभापति लामिछानेले आमनागरिक, समाज र देशले हामीलाई हेरिरहेको भन्दै देश बनाउने काममा रचनात्मक भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिए । “हामी जीवनी लेख्ने यात्रामा हैन, इतिहास लेख्न हिँडेका हौँ । त्यसैले पार्टीमा योगदानको मूल्य माग्ने बेला भएको छैन । अब सबै मिलेर अवस्था बदल्ने क्रान्तिमा लागौँ”, उनले भने ।
सभापति लामिछानेले सबै सुकुमवासी र भूमिहीनलाई सरकारले अधिकार दिने बताउनुभयो । “हामीले चुनावमा गरेका वाचाअनुसार काम गर्छौं । सुकुमवासी समस्यालाई उच्चस्तरीय आयोग बनाएर स्थायी समाधान गर्छौं ।संविधानको मर्मअनुसार सबैका अधिकार सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ”, उनले भने ।
सभापति लामिछानेले संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको सिफारिस भएको बताए । उनले सरकार बजेट बनाउन व्यस्त रहेको र त्यसलाई उत्कृष्ट बनाउने गरी अर्थमन्त्रीसँग छलफल भएको जानकारी दिए । उनले सिङ्गै देश हाम्रो निर्वाचन क्षेत्र हो भन्ने ठानेर राज्यको सामथ्र्य बढाउने गरी काम गरिने धारणा राखे ।
सभापति लामिछानेले सरकारले आमजनमानसमा सकारात्मक सन्देश दिने गरी काम गरिरहेको र सरकारको भूमिकालाई थप प्रभावकारी बनाउने गरी खबरदारी सधैँ अपेक्षित रहेको बताए ।