रसुवामा बेपत्ता एउटै परिवारका तीनजनाको छ महिना बित्दा पनि मृत्यु दर्ता नभएपछि परिवारले सुरु गर्यो, काजकिरिया

रसुवामा बेपत्ता एउटै परिवारका तीनजनाको छ महिना बित्दा पनि मृत्यु दर्ता नभएपछि परिवारले सुरु गर्यो, काजकिरिया

मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२
  • रसुवामा बेपत्ता एउटै परिवारका तीनजनाको छ महिना बित्दा पनि मृत्यु दर्ता नभएपछि परिवारले सुरु गर्यो, काजकिरिया

    भक्तपुर । रसुवामा बाढीले बगाएर बेपत्ता भएका भक्तपुरका एकै परिवारका तीन युवाको छ महिना बितिसक्दा पनि मृत्यु दर्ता हुन सकेको छैन । प्रत्यक्षदर्शीको भनाई र प्रहरीको लामो अनुसंधानलाई आधार मानेर परिवारले अन्ततः हिन्दू संस्कारअनुसार काजकिरिया सुरु गरेको छ । , सोही आधारमा मृत्यु दर्ता गरिदन पनि राज्यका विभिन्न निकायमा हारगुहार गरिरहेको छ।

    गत आश्विन १९ गते लाङटाङ ट्रेकिङमा जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका ४ स्थित पेरिङ खोल्सामा आएको बाढीले एकै परिवारका तीन जनालाई बगाएर बेपत्ता बनाएको थियो । उनीहरू अघिल्लो रात गोसाइँकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाँदै थिए । 

    बेपत्ता हुनेहरूमा सूर्यविनायक नगरपालिका – ४  दधिकोट बस्ने एकै परिवारका २६ बर्षीय सनिता श्रेष्ठ, २३ वर्षीया संस्कृति श्रेष्ठ र २१ वर्षीय चितलाल श्रेष्ठ रहेका छन् । १६ जनाको टिममा ८ जनालाई खोल्साले बगाएको थियो । ४ जनालाई भने उद्धार गरिएको प्रहरीले जनाएको थियो । एकै परिवारका तीनजना बाहेक खोल्साले बगाएर बेपत्ता भएका अर्का थिए, भक्तपुर १० का रवि श्रेष्ठ । संस्कृति, किशन र सनिता सहोदर दिदी भाइ हुन् । उनीहरूको परिवार रामेछापबाट बसाइँसराइ गरेर भक्तपुरको दधिकोटमा बसोबास गर्दै आएको हो । 

    22.jfif

    घटना भएको छ महिनासम्म पनि उनीहरूको अवस्था अज्ञात नै रहेको छ । लामो समयसम्म कुनै जानकारी नआएपछि परिवारले हिन्दू परम्पराअनुसार अन्त्येष्टि संस्कार सुरु गरेको हो । काजकिरिया बस्नुअघि कुशबाट प्रतीकात्मक शव बनाएर पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा दाहसंस्कार गरिएको थियो । त्यसपछि दधिकोटस्थित आफ्नै घरमा अहिले काजकिरियाको काम चलिरहेको छ । बेपत्ता तीन जनाका बाबु कृष्णबहादुर श्रेष्ठ स्वयं काजकिरियामा बसेका छन् । उनीहरू काजकिरिया बसेको सोमबार आठ दिन भइसकेको छ ।

    परिवारसँग घटनासम्बन्धी विभिन्न कागजात छन् । जसमा रसुवा जिल्ला प्रहरीले गरेको घटनास्थलको अनुसंधान र मुचुल्का अनि प्रत्यक्षदर्शीको बयान रहेका छन् । यसबीच परिवारले वडादेखि मन्त्रालय, अदालतसम्म धाएर नियमअनुसारका कार्यगरिदिन निवेदनसमेत दिएको छ । तर हालसम्म त्यसबारे कुनै निर्णय नभएको बेपत्ताका बुबा कृष्ण श्रेष्ठ बताउँछन् । 

    यति प्रमाण हुँदाहुँदै पनि मृत्यु दर्ता प्रक्रिया अघि बढ्न नसकेको परिवारको दुखेसो छ । ‘दधिकोटस्थित वडा कार्यालयमा मृत्यु दर्ता गर्न जाँदा प्रहरी वा अदालतको पत्र आवश्यक पर्ने भनियो, त्यसपछि ती निकायमा जाँदा मृत्यु दर्ता सिफारिस गर्न कानुनी अड्चन रहेको जवाफ पाईयो’– बेपत्ता तीनजनाका काका केशव श्रेष्ठले तीतो अनुभव सुनाए । बेपत्ता व्यक्तिलाई कानुनी रूपमा मृत घोषणा गर्न १२ वर्ष कुर्नुपर्ने व्यवस्था रहेको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ ।

    लाङटाङ यात्रामा निस्केका बेपत्ता युवाको यो घटना अहिले परिवारका लागि गहिरो पीडामात्र नभई बेपत्ता व्यक्तिको कानुनी अवस्थाबारेमा गम्भीर प्रश्न बनेको छ । प्रहरी अनुसंधान र प्रत्यक्षदर्शीको बयानलाई आधार मानेर कम्तीमा मृत्यु दर्ताको मान्यता दिन परिवारले गरेको आग्रहलाई हालसम्म राज्यका सबैजसो निकायले बेवास्ता गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij