भक्तपुर । काठमाडौं उपत्यकाका सबै १५ सिट राष्ट्रिय स्वतन्त्र पाटी राश्वपाले जित्ने भएको छ । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंका सबै १० सिट राश्वपाले हत्याएको छ । त्यसैगरी ललितपुरका तीन सिटमै फराकिलो अग्रता बनाएको राश्वपाले भक्तपुरका दुई क्षेत्रमै दरिलो उपस्थिति जनाएको छ ।
यतिसम्मकी कसैले कल्पना समेत गर्न नसकेको र २०४८ सालदेखिका सबै निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले जित्दै आएको भक्तपुर निर्वाचन क्षेत्र नंं. १ मा समेत राश्वपाले जित्ने सम्भावना दरिलो बनेको छ । मतगणना शुरु भएदेखि राश्वपाका उमेद्वार रुकेश रन्जितले लगातार अग्रता कायम गरेका छन् ।
पछिल्लो मत परिणाम अनुसार राश्वपाका उमेद्वार रन्जितले तीन हजार ९८ मतसहित अग्रता कायम गरेका छन् । राश्वपाका उमेद्वार रन्जितले ३००५८ मत पाएका छन् । नेमकिपाकाका प्रेम सुवालको पछिल्लो मत २६ हजार ९ सय ६० रहेका छ ।
नेमकिपाको गढका रुपमा चिनिएको भक्तपुर नगरका सम्पूर्ण वडाको मतगणना भइसकेको छ भने चाँगुनारायणका ८ र ९ नं. वडाको मतगणना जारी छ । त्यसैले पनि राश्वपाले यसपटक मादलको ऐतिहासिक किल्लामा बिजयी हात पार्ने निश्चित भएको छ ।