भक्तपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आज पदबाट राजीनामा दिन लागेको चर्चा भइरहँदा उनी भक्तपुरस्थित ऐतिहासिक नवदुर्गा मन्दिरमा पूजा–अर्चना गर्दै गरेको अवस्थामा देखिएका छन् । उनी आइतबार विहान नवदुर्गा मन्दिर पुगेका थिए । उनले विशेष पूजा गर्दै आशीर्वाद लिएको मन्दिर स्रोत बताउँछ । फागुन २१ मा हुने संघीय निर्वाचनमा बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने चर्चा छ ।
नवदुर्गा मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र होइन, राजकीय र राष्ट्रस्तरीय परम्परासँग जोडिएको शक्तिपीठका रूपमा समेत चिनिन्छ । इतिहासअनुसार यो शक्तिपीठमा राजतन्त्रकालमा राजाहरू र गणतन्त्र स्थापनापछि राष्ट्रपतिहरूले दशैंको कोजाग्रत पूर्णिमाका दिन अनिवार्यजस्तै दर्शन गर्ने चलन रहँदै आएको छ ।
राजनीतिमा ठूला निर्णय लिनुअघि शक्तिपीठमा पुगेर आशीर्वाद लिने परम्परा नेपाली राज्यसत्ताको इतिहासमा पटक–पटक दोहोरिँदै आएको सन्दर्भमा, मेयर शाहको नवदुर्गा दर्शनलाई पनि धेरैले भावी कदमसँग जोडेर मूल्याङ्कन गर्न थालेका छन् । स्मरणिय रहोस्, शाहलाई रास्वपाले बरिष्ठ नेता नियुक्त गर्दै भावी प्रधानमन्त्रीको रुपमा समेत अघि बढाउने निर्णय गरेको छ । यद्यपि, मेयर शाहको सचिवालय वा काठमाडौं महानगरपालिकाबाट यस विषयमा औपचारिक प्रतिक्रिया आएको छैन ।
बालेनले बाबुको बरखी बारिरहेका छन् ।