काठमाडौं । रुसमा एक कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तिमा ६० जनाको ज्यान गएको छ। मस्को नजिकैको क्रोकस सिटी हलमा भएको सो घटनामा परी एक ४५ जना घाइते भएका छन्। रोयटर्सका अनुसार कन्सर्ट हुन लाग्दै गर्दा ती हतियारधारीले अन्धाधुन्द गोली चलाएका थिए ।
कन्सर्टअघि भेष बदलेर हलभित्र प्रवेश गरेका हतियारधारीले गोली चलाएको समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलमा पुगेका सुरक्षाकर्मीले बेसमेन्टबाट करिब १०० जनाभन्दा बढीको उद्धार गरेको बताइएको छ। घाइतेमध्ये ६० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
कन्सर्टमा प्रस्तुति दिने तयारीमा रहेका कलाकार भने सुरक्षित रहेको बताइएको छ। राष्ट्रपति म्लादिमिर पुटिनले घटनाप्रति दुःख व्यक्त गर्दै आक्रमणमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। मस्कोका मेयर सर्गेई सोब्यानिनले आक्रमणलाई ‘भयानक त्रासदी’ भनेका छन्। यसैबीच आक्रमणको जिम्मेवारी आईएसआईएसले लिएको सीएनएनले जनाएको छ।