२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

मंगलवार, चैत्र ६ २०८०
मंगलवार, चैत्र ६ २०८०
  • २७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

    बैङ्कक । विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले नेपाली जातिलाई एकतृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन(एएनओ) गठन गरेको छ ।

    विश्वका कम्तीमा २७ देशका नेपालीमूलका सामाजिक अभियन्ताहरूको प्रतिनिधित्व रहेको सोमबारको भेलालाई पहिलो महाधिवेशनको स्वरुप दिएर भुटानमा जन्मी हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका नेपालीमूलका समाजसेवी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

    अधिकारी इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष हुछन्। सो फाउण्डेसनको सहयोग र समन्वयमा बैङ्ककमा नेपालीभाषीहरूको यो पहिलो महाधिवेशनको आयोजना गरिएको हो ।

    विश्वका २७ देशमा रहेका एक सय जनाभन्दा बढी नेपालीभाषीको सहभागिता रहेको सो भेलाले उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चुडामणि भट्टराई, सचिव चिरनजङ्ग थापा, सहसचिव अर्जुनकुमार पौडेल, कोषाध्यक्ष उदयनारायण मिश्र र सहकोषाध्यक्षमा गोपी कार्की तथा सदस्यहरू चयन गरेको छ ।
     
    यसैगरी संस्थाको बोर्ड अफ ट्रष्टीमा अध्यक्ष डिल्ली अधिकारीसहित सदस्यहरूमा सुशीलकुमार पन्त, चुडामणि भट्टराई, साधना घिमिरे, बाबुकृष्ण कार्की, सुनिता गुरुङ, ओमराज गुरुङ, वात्सना राई, टिबी गुरुङ, बिरास अधिकारी र करिष्मा सुब्बालाई चयन गरेको छ ।

    विश्वका विभिन्न मुलुकमा स्थायी बसोबास गर्दै आएका सम्पूर्ण नेपाली जातिको चाहना भावनात्मकरूपमा आफ्नो मातृ तथा पितृ भूमिप्रति समर्पित भई नेपालका लागि योगदान गर्न आपसी भाइचारा, सद्भाव एवं सहयोग कायम गर्न तथा नेपाली जातीय, सांस्कृतिक पहिचानलाई समेत जीवन्त राख्न एएनओको गठन गरिएको सो महाधिवेशनको उद्घाटनका क्रममा जानकारी दिइयो ।

    महाधिवेशनको उद्घाटन गर्दै थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले एएनओ विश्वमा रहेका नेपालीभाषीहरूलाई एकताको सूत्रमा बाँध्न र एकापसमा सहयोग र सद्भाव कायम राख्नसक्ने संस्थाका रूपमा विकास होस् भनी कामना गरे । 

    नेपाल र नेपालीका नाममा जेजस्ता संस्था स्थापना भए पनि तथा नेपालीहरू सङ्गठित भए पनि नेपाली भाषा, साहित्य, संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धन एवं नेपालीबीचको सहयोग र समन्वयमा लाग्न उहाँले सुझाव दिनुभयो । उहाँले नेपालीमूलका र नेपालीभाषी नागरिकहरू जो जुन देशमा छन् त्यहाँ उनीहरू इज्जतसाथ बस्न पाउनुपर्ने धारणा पनि राखे । 

    एएनओका अध्यक्ष अधिकारीले यो अभियान विशुद्धरूपमा संसारमा छरिएर रहेका नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीलाई एकताको एउटै मालामा गाँस्ने भावना र उद्देश्यले सुरु गरिएको जानकारी दिए । उनले भने, “यो सबै नेपालीभाषीहरूको साझा संस्था भएकाले गैरराजनीतिक र गैरपक्षधर अभियान पनि हो । यो अभियान नेपाल, नेपाली, नेपाली मातृ तथा पितृभूमि, नेपाली संस्कार र संस्कृति एवं नेपाली दाजुभाइ तथा दिदीबहिनीको साझा र आफ्नै संस्था हो ।” 

    उनले संसारमा रहेका नेपाली नागरिकका छोराछोरीलाई पनि नेपाली भाषा, संस्कार, संस्कृतिको ज्ञान दिलाइ उनीहरूमा पनि नेपाली पहिचानको जगेर्ना गरिराख्न तथा विदेशमा रहेका भावी सन्ततिहरूलाई आफ्नो मातृ तथा पितृभूमिका बारेमा सदैव जानकार बनाइराख्न यो संस्थाले काम गर्ने जानकारी दिए।

    सो संस्थाका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले संस्थाको कानुनी व्यवस्थाका बारेमा जानकारी दिँदै जो जहाँ रहे पनि भाषा र संस्कृतिका माध्यमबाट यस संस्थाले विश्वका नेपालीभाषी समुदायलाई जोड्ने धारणा राखे। संस्थाका महासचिव चुडामणि भट्टराईले संस्था गठनको उद्देश्यका बारेमा जानकारी गराउँदै विभिन्न ४५ भन्दा बढी मुलुकका नेपालीभाषी अभियानमा जोडिएको बताए।

    कार्यक्रममा साउदी अरेबियास्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख डा डम्मरुबल्लभ पौडेलले नेपालमा लगानीका क्षेत्र र अवसरहरूका बारेमा जानकारी दिँदै यसका लागि एएनओमा आबद्ध रहेका विश्वका नेपालीभाषीहरूले पनि पहल गर्नुपर्ने बताएका छन् ।

    सो कार्यक्रममा विभिन्न देशबाट आएका प्रतिनिधिले भूगोलको भन्दा भावनाको सीमा फराकिलो हुने भन्दै आफ्नो मातृ तथा पितृभूमिसँग यस संस्थामार्फत जोडिन पाएकामा खुसी व्यक्त गरेका थिए । 

    पहिलो महाधिवेशन भनिएको सो भेलामा नेपालसहित भारत, थाइल्याण्ड, म्यानमार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, बेलायत, पोर्चुगल, जर्मनी, दक्षिण कोरिया, इटाली, न्युजिल्याण्ड, भियतनाम, कम्बोडिया, बहराइनलगायतका २७ देशमा बसोबास गरिरहेका नेपालीहरूको सहभागिता रहेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij