मोरङ । मोरङको पथरीस्थित एक चिउरा मिलमा आगलागी हुंदा एक करोड ५० लाखको क्षति भएको छ । जिल्लाको पथरी शनिश्चरे– १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।
राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको खाद्यान्न लगायतका सम्पुर्ण सामाग्री जलेको बताइएको छ । मिलमा आगो लागेको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको जनाइएको छ ।
मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन । आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।