चितवन । चितवनमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा एकजनाको मृत्यु भएको छ । चार जना घाईते भएका छन् । नारायणगढ मुग्लिन सडकको जलबिरेमा बस र ट्रक ठोक्किँदा सो दुर्घट्ना भएको बताइएको छ।
मृत्यु हुनेमा भारत मोतिहारीका ३५ वर्षीय गौरी दासको भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ८५२४ नम्बरको सो बस इच्छाकामना गाउँपालिका–६ मा पर्ने जलबिरेमा सडक किनारमा रोकिराखेको ना ६ ख ३५८० नम्बरको ट्रकसँग ठोक्किएको चितवन प्रहरीले जनाएको छ।
घाइते हुनेमा ट्रक चालक पर्सा वीरगञ्ज महानगरपालिका–२३ बस्ने ३३ वर्षको हाकिम मिया, बसमा सवार सर्लाही बरहथवा नगरपालिका मिलनचोकका २५ वर्षीया पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगराकी ३२ वर्षीय अम्बर नाथ कुमार र भारत बिहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रीता गुप्ता रहेका छन् ।
घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बस चालक नवलपरासी पुर्वको कावासोती नगरपालिका–१४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।