काठमाडौं । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । खानेपानी योजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
पालिकाको वडा नं ३ को ब्याफु खानेपानी मर्मत योजनाका नाममा ५ लाख १५ हजार १०८ रुपैयाँ दुरुपयोग गरेको आरोपमा गाउँपालिका अध्यक्ष धनलाल चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित ९ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
खानेपानी योजना मर्मतको काम नभए पनि काम भएको भनी कार्य सम्पन्न प्रतिवेदन बनाएर झुटा बिल भरपाई तयार गरी सरकारी रकम हिनामिना गरेको अख्तियारको दाबी छ । गाउँपालिकाका तत्कालीन अध्यक्ष चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र सब इन्जिनियर हर्कधन बुढाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
त्यसैगरी उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष विरकुल्ली बुढा र वडा नं ३ का वडाध्यक्ष शालिग्राम ऐडीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।