चितवनमा स्क्रब टाइफस सङ्क्रमण बढ्दो, कसरी लाग्छ यो रोग ?

चितवनमा स्क्रब टाइफस सङ्क्रमण बढ्दो, कसरी लाग्छ यो रोग ?

बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • चितवनमा स्क्रब टाइफस सङ्क्रमण बढ्दो, कसरी लाग्छ यो रोग ?

    काठमाडौं ।  चितवनमा गत आर्थिक वर्षमा स्क्रब टाइफस परीक्षण गरिएका बिरामीमध्ये एक हजार ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा एक जनाको स्क्रब टाइफसका कारण मृत्यु भएको पुष्टि भएको छ ।

    सङ्क्रमितमध्ये ३९५ पुरुष र ६६० महिला छन् । भरतपुर महानगरपालिकामा ८० पुरुष र १३४ महिला, खैरहनी नगरपालिकामा २२ पुरुष र ४८ महिला, माडी नगरपालिकामा छ पुरुष र पाँच महिला, रत्ननगरमा ५३ पुरुष र ७७ महिला, राप्तीमा २४ पुरुष र ३३ महिला, कालिका नगरपालिकामा २२ पुरुष र ३१ महिला र इच्छाकामना गाउँपालिकामा १० पुरुष र १४ महिला सङ्क्रमित देखिएका छन् ।
     
    अन्य जिल्लाबाट आएका बिरामीमध्ये १७८ पुरुष र ३१८ महिला रहेका छन् । गत आर्थिक वर्षमा कूल सात हजार ९५ जनाको स्क्रब टाइफस परीक्षण गरिएको थियो ।
     
    जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले स्क्रब टाइफस नियन्त्रणका लागि जनचेतना फैलाउनुका साथै समयमै उपचार गर्नु आवश्यक रहेको बताए । उनले सरसफाइमा विशेष ध्यान दिन, झाडी क्षेत्रबाट बच्न र लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरे ।

    उनले यही साउनमा मात्रै ४७८ जनाको परीक्षणमा ३० जनामा सङ्क्रमण पुष्टि भएको बताए। तीमध्ये केही जिल्लाभित्र कै र केही अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामी छन् । खासगरी वर्खाको समयमा यो रोगको सङ्क्रमण बढी हुने उनले बताए ।  उनले भने, “पानी परेपछि मुसाहरू घर, गोठ वा ओवानोमा पस्ने गर्छन् । त्यस क्रममा तिनको शरीरमा रहेका किर्ना खसेर मानिसलाई टोकेमा सङ्क्रमण हुने सम्भावना हुन्छ ।”
     
    उनले अघिल्लो आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचार गरिएका तीन हजार आठ सय जनाको परीक्षणमा पाँच सय ५२ जनामा स्क्रब टाइफस सङ्क्रमण देखिएको जानकारी दिए ।

    चितवनमा स्क्रब टाइफसको पहिलो रिपोर्टिङ विसं २०७२ मा भएको थियो । भेक्टर कन्ट्रोल निरीक्षक केसीका अनुसार परीक्षणको दायरा विस्तार हुँदै जाँदा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७६÷७७ मा एक हजार पाँच सय १६ जनाको परीक्षण गर्दा एक सय २७ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको थियो । त्यसैगरी, २०७७÷७८ मा दुई हजार दुई सय ९० जनामध्ये तीन सय १८ जना, २०७८÷७९ मा तीन हजार दुई सय ८६ परीक्षणमध्ये दुई सय ६८ जना र  आर्थिक वर्ष  २०७९÷८० मा तीह जार चार सय ६१ जनाको परीक्षणमा पाँच सय तीन जनामा सङ्क्रमण देखिएको थियो ।
     
    स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो जुन मुसामा पाइने माइट (किर्नाजस्तो देखिने कीरो) को टोकाइबाट मानिसमा सर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन ।

    केसीका अनुसार स्क्रब टाइफस ओरेन्टिया सुसुगामुशी नामक जीवाणुबाट लाग्ने हो । माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, वा घर वरिपरिको फोहर क्षेत्रमा पाइन्छ । रोग नियन्त्रणका लागि उनले खेतबारी, वनजङ्गल वा घाँस काट्न जाँदा पूरै शरीर ढाक्ने कपडा लगाउन, सकेसम्म जुत्ता प्रयोग गर्न, घाँसबारी वा चउरमा गुन्द्री वा दरी ओछ्याएर मात्र बस्न तथा भुइँमा सुत्न वा बस्न नहुने सुझाव दिए । मुसा नियन्त्रणका लागि अन्न भण्डारण सही ढङ्गले गर्नुपर्ने उनले उल्लेख गरे ।
     
    रोगका लक्षणमा उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटभन्दा बढी), अत्यधिक पसिना आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, शरीरका मुख्य अङ्गहरू प्रभावित हुने, तथा कीराले टोकेको स्थानमा रातो दाग देखिने र पछि कालो दाग बस्न सक्ने रहेका भेक्टर कन्ट्रोल निरीक्षक केसीले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij