ललितपुर । चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द हुने भएको छ । सडक चौडा गर्न मेसिन लगाउँनु पर्ने भएको ४५ दिन सडक बन्द गर्न लागिएको हो ।
ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ अन्तर्गत ललितपुरको काल्चे खण्डमा सडक चौडा गर्न बिहान १० वजेदेखि बेलुका ५ वजेसम्म सडक बन्द गर्न लागिएको कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले बताए । सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय अनुसार सडक बन्द गरिएको आयोजनाले जनाएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कटिङसहितको निर्माण गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाउने निर्णय गरेको थियो । बैठकले कान्तिराजमार्ग खण्डमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णयसमेत गरेको छ ।
विसं २०१३ मा शिलान्यास गरिएको काठमाडौँलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको छ । सरकारले प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ । कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९२ किलोमिटर लम्बाइ रहेका छ ।