झापा । झापामा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि भएको छ । मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको हो ।
गरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार, मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको छ। नगरको पशु सेवा शाखाबाट सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक परीक्षण, उपचार र सतर्कतासहित सात जना प्राविधिक कर्मचारी परिचालन गरिरहेको अधिकारीको भनाई छ ।
कोशी प्रदेश र सङ्घीय सरकारका निकायमा समेत आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरिसकेको अधिकारीले बताए । पशु सेवा शाखाका प्राविधिकका अनुसार गाई र बाच्छीहरूमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएपछि किसानको गोठमै पुगेर प्राविधिक टोलीले उपचार सुरु गरेको छ ।
गाईवस्तको जिउभरि घाउ खटिरा र ज्वरो आउने लक्षण रहेको छ । सो रोग देखा परेका स्थानका किसानलाई गोठको सरसफाइका लागि फिनेललगायतका सामग्री वितरण गरिएको छ। सङ्क्रमित गाई र बाच्छीहरूलाई अलग्गै राखेर मल्हम लगाउने र पेनकिनर औषधि खुवाउने गरिएको पशु सेवा शाखाले जनाएको छ ।
‘लम्पी स्किन’ले थप जोखिम नहोस् भन्नाका लागि सङ्क्रमण फेलापरेको गोठको पाँच सय मिटर आसपासका किसानले पालेका डेढ सयभन्दा बढी गाईवस्तुमा पशु प्राविधिक टोलीले ‘रिङ भ्याक्सिन’ लगाउने गरेको छ । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखापरेको छ ।
यसैगरी मेचीनगर वडा नं ६ स्थित बबिता बङ्गुुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’का कारण ८० बङ्गुर मरेका छन् । पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीषणबाट मरेका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फ्लू’ पुष्टि भएको पशु सेवा शाखाका प्रमुख विक्रम गुरुङले बताए ।
फार्मकी सञ्चालक बबिता गहतराजले जेठभरिमा ८० वटा बङ्गुर भकाभक मर्दा ठूलो क्षति भएको बताइन । नगरपालिकाको पशु सेवा शाखा प्रमुख गुरुङसहितको प्राविधिक टोलीले प्रभावित बङ्गुर फार्म र आसपासका क्षेत्रका रोग फैलिन नदिन औषधोपचार र सचेतनाका कार्यहरू गरिरहेको जनाएको छ ।