भक्तपुरमा दीप श्रेष्ठको पहिलो एकल प्रस्तुति

भक्तपुरमा दीप श्रेष्ठको पहिलो एकल प्रस्तुति

बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • भक्तपुरमा दीप श्रेष्ठको पहिलो एकल प्रस्तुति

    भक्तपुर । वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठले आफ्नो सांगीतिक यात्रामा पहिलोपटक भक्तपुरमा एकल सांगीतिक प्रस्तुति दिएका छन् । पाँच दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रलाई योगदान दिँदै आएका श्रेष्ठले वैशाख २० गते सल्लाघारीस्थित इम्पेरियल बैन्क्वेटमा आयोजित 'दीप श्रेष्ठ म्युजिकल इभ २०८२' मा करिब तीन घण्टा लामो सांगीतिक कार्यक्रम प्रस्तुत गरेका हुन् । 

    भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा भएको यस विशेष कार्यक्रममा सूर्यविनायक नगरपालिकाको समन्वय रहेको थियो । गायक श्रेष्ठले कार्यक्रममा ‘म पत्थरको देवता होइन’ गीतबाट सुरु गर्दै ‘कति कमजोर रहेछ भाग्य’, ‘म त दूरदेखि आएँ’, ‘सुनिदेउ सानो छदाको कथा’, ‘भन्थिन मेरी उनी मन’, ‘हर रात सपनीमा’ जस्ता आफ्ना कालजयी गीतहरू प्रस्तुत गरेका थिए । 

    नेपाल भाषाको चर्चित गीत ‘चुलबुल चन्चला’ समेत उनले गाएर कार्यक्रमलाई सांस्कृतिक रंग दिएका थिए । कार्यक्रममा उनले कुल २३ देखि २५ वटा गीतहरू गाएका थिए ।

    यो प्रस्तुति त्यतिबेला अझ विशेष बन्यो जब गायिका दृष्टि श्रेष्ठले 'हर रात मेरा निदहरू चिसो बतासले' गीत प्रस्तुत गरिन् भने सोफिया श्रेष्ठले ‘फूलको गाला भिजाएर’ मा साथ दिइन् । ‘मुटुको ढोका खोलेर’ गीतमा भने समृद्धि परियारले दीप श्रेष्ठलाई स्वरमा साथ दिइन् ।

    कार्यक्रममा सयौं संगीतप्रेमीहरूका साथै नेपाली संगीत क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू—वरिष्ठ गीतकार राजेन्द्र थापा, सुवास चन्द्र ढुंगेल, संगीतकार दीपक जंगम, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र उपप्रमुख सरिता तिम्सिना भट्टराईको उपस्थिति रहेको थियो ।

    वरिष्ठ गायक श्रेष्ठले लाइभ प्रस्तुति दिँदा उपस्थित दर्शकहरूको उत्साह, साथ र ‘वान्स मोर’ को आवाजले माहोल नै आनन्दमयी बनेकाे थियाे । 

    भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्बर्ट बज्राचार्य र भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठका अनुसार, यो कार्यक्रम भक्तपुरको सांगीतिक इतिहासमा नयाँ उचाइ बन्न पुगेको छ । उनीहरूले भविष्यमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने योजना रहेको समेत जानकारी दिएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij