नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको तयारी पूरा (भिडियो समेत)

नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको तयारी पूरा (भिडियो समेत)

बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको तयारी पूरा (भिडियो समेत)

    भक्तपुर । नयाँ वर्ष २०८२ तथा भक्तपुरको ऐतिहासिक विस्काः जात्राको अवसर पारेर भक्तपुरमा नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१–०८२ आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको संयुक्त आयोजनामा महोत्सव आगामी चैत २८ गतेदेखि बैशाख ७ गतेसम्म भक्तपुरको सल्लाघारीस्थित तीनकुने खुला चौरमा सञ्चालन गरिने छ ।

    आज विहिबार विहान आयोजना स्थल छेउको एक रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजक पक्षले महोत्सव वारे जानकारी गराएको हो । औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महत र महोत्सवका संयोजक दीपक थापाले महोत्सव वारे बिस्तृत जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा अध्यक्ष महतले मन्तब्य राखेका थिए भने महोत्सवका संयोजक दीपक थापाले प्रेस बिज्ञप्ती पढ्नुका साथै पत्रकारका तमाम जिज्ञासाको जवाफ दिएका थिए ।

    यस महोत्सवमा दैनिक उपभोग्य वस्तुहरू, खाद्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्रीहरू बिक्रीका लागि राखिने आयोजक संस्थाले जनाएको छ । साथै, औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल तथा आधुनिक कृषि औजारको प्रदर्शनीसमेत गरिनेछ । मोबाइल तथा इलेक्ट्रोनिक्स सामानका विशेष स्टलहरू समेत महोत्सवमा रहनेछन् ।

    महोत्सवमा बालबालिकाहरूका लागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, विभिन्न खेलौना स्थल, रोटे पिङ, रेनजर तथा मारुती सर्कस जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिनेछन् । त्यस्तै, स्थानीय खाद्य परिकार, पर्यटकीय गतिविधि, तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति महोत्सवको मुख्य आकर्षण हुने पनि पत्रकार सम्मेलनमा जानकारी गराईयो । 

    व्यापारिक स्टलहरूमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यस वर्ष महोत्सवमा करिब १ सय ५० स्टल रहने र पाँच लाखभन्दा बढी अवलोकनकर्ताको अपेक्षा गरिएको छ । महोत्सवलाई व्यवस्थित गर्नका लागि प्रवेश शुल्क रु. ५० र रु. ८० तोकिएको छ भने विद्यार्थीलाई विशेष छुटको व्यवस्था गरिएको छ । त्यसैगरी जेष्ठ नागरिकलाई मेला अवलोकन निशुल्क गरिएको छ ।

    साथै, बैशाख १३ गते चर्चित गायक–गायिकाहरूको प्रस्तुति रहने ‘भक्तपुर सांगीतिक साँझ–२०८२’ को समेत आयोजना गरिने जानकारी पनि आयोजक संस्थाले दिएको छ । आयोजकहरूले विगतका वर्षझैं यसपटक पनि सञ्चारकर्मी तथा आम नागरिकको सक्रिय सहभागिता एवं सहयोगको अपेक्षा गरेका छन् । पत्रकार सम्मेलनको सञ्चालन पत्रकार हेमराज ढकालले गरेका थिए । स्मरण रहोस् यस अघिका सम्पूर्ण महोत्सव शृङखला बृहत्त र सफल भएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij