काठमाडौं । फिल्म अञ्जिलाको निर्माण टिमले तीन दिनमा २ करोड ७ लाख कमाउन सफल भएको छ । यसका निर्माताले आइतबार फिल्मको तीन दिनको ग्रस कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छन्। जसअनुसार फिल्मले बिहीबार, शुक्रबार र शनिबार गरेर २ करोड ७ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको हो।
रिलिजको पहिलो दिनदेखि नै दर्शकको साथ पाएको फिल्मले शनिबार देशभरका हलमा राम्रो व्यापार गरेको थियो। फिल्ममा दर्शकको उपस्थिति उत्साहजनक भएसँगै कतिपय हलले शो समेत थपेका थिए।
ुअञ्जिलाु नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ ।
फिल्ममा एन्जिला आफैले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको भावुक कथा यसमा प्रस्तुत गरिएको छ ।
यस्तै, अभिनेता दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा उनका बुवाआमाको भूमिकामा छन्। फिल्ममा सुनील थापा, विजय बराल, माओत्से गुरूङ, बुद्धि तामाङ, बेदना राई, सारा राई लगायत कलाकारहरूको अभिनय छ। यो फिल्म मिलन चाम्सले निर्देशन गरेका हुन्।