त्रियुगा नगरपालिकामा ट्युबबेल सुक्न थालेपछि पानीको समस्या

त्रियुगा नगरपालिकामा ट्युबबेल सुक्न थालेपछि पानीको समस्या

बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • त्रियुगा नगरपालिकामा ट्युबबेल सुक्न थालेपछि पानीको समस्या
    उदयपुर(गाईघाट) । हिउँमा यस वर्ष अहिलेसम्म वर्षा हुन नसकेपछि जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा जमिनमुनि पानीको सतह घटेर ट्युबबेलमा पानी सुक्न थालेको छ । ट्युबबेलको पानी सुक्न थालेपछि स्थानीयलाई पिउने पानीको समस्या हुन थालेको हो ।
     
    त्रियुगा नगरपालिका–१ को जोगीदह, २ को खैनपुर, मोथ्याइ, वडा नं १२ को बोटेटोल गाईघाट, वडा नं १३ असारी पोर्ताह, लक्ष्मीपुरसहितका क्षेत्रमा जमिनमुनि पानीको सतह घट्न थालेपछि ट्युबबेलबाट पानी आउन छाडेको स्थानीय प्रेमप्रसाद भुजेलले बताए ।
             
    असारी क्षेत्रका अहिले झण्डै चार दर्जनभन्दा बढी ट्युबबेल सुक्न थालेपछि पिउने पानीको समस्या भोग्नुपरेको स्थानीय बताउँछन् । त्रियुगा–१२ पुरानो गाईघाट, बोटेटोल तथा बुद्धचोक क्षेत्रमा पनि फागुनको पहिलो सातादेखि अधिकांश ट्युबबेलबाट पानी आउन छाडेपछि अन्यत्रबाट पिउने पानी ल्याएर उपभोग गर्न बाध्य भएको बुद्धचोकका शान्तिमाया कार्कीले बताए ।
     
    बुद्धचोक क्षेत्रका अहिले झण्डै तीनदर्जन हाराहारीका कल तथा ट्युबबेल सुकेका छन् । त्रियुगा–१ जोगिदह बरगाछीका स्थानीय उमानन्द ढुङ्गानाका अनुसार फागुनको पहिलो सातादेखि कल तथा ट्युबबेल सुक्न थालेका हुन् । सोही कारणले अहिले अधिकांशले इनारको दूषित पानी पिउनुपरेको उनको भनाइ  छ ।
     
    त्रियुगा–२ खैजनपुर क्षेत्रमा पनि फागुनको पहिलो सातादेखि ट्युुबबेलमा पानी सुक्न थालेपछि समस्या भइरहेको रेखा राजधामीले बताए । मोथ्याइका कल मिस्त्री देवलाल चौधरीले भने, “यस पटक पुस, माघमा एक दुई पटक पनि वर्षा भएन, यही कारण जमिनमुनि पानीको सतह घटेर २५ फिटभन्दा तल झरिसकेको छ । बीस–बाइसफिट गहिराइमा गाडेका सबै ट्युबबेल, कलहरू सुकिसकेका छन्, अब ठूलो वर्षा नभएसम्म यी ट्युबबेलबाट पानी आउँदैन ।”
                
    अहिले त्रियुगाका अधिकांश गाउँमा करिब तीन सयभन्दा बढी कल तथा ट्युबबेल सुकेपछि पिउने पानीको समस्या हुन थालेको हो । कल तथा ट्युबबेलबाट पानी आउन छाडेपछि कतिपय स्थानीय गाउँटोल नजिक रहेका इनारबाट पानी उपभोग गर्न थालेका लक्ष्मीपुरका सीताराम चौधरीले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij