पर्वतको मिलनचोक–लेखफाँट–शालिजा सडक ५ करोड १५ लाख लागत स्तरोन्नति सुरु

पर्वतको मिलनचोक–लेखफाँट–शालिजा सडक ५ करोड १५ लाख लागत स्तरोन्नति सुरु

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • पर्वतको मिलनचोक–लेखफाँट–शालिजा सडक ५ करोड १५ लाख लागत स्तरोन्नति सुरु

    पर्वत । जलजला गाउँपालिकाको मिलनचोक–लेखफाँट–शालिजा सडक स्तरोन्नति गर्न सुरु गरिएको छ । जलजला गाउँपालिकाका चार वडाका साथै छिमेकी जिल्ला म्याग्दीको नागीका बासिन्दालाई बाह्रैमास यातायातको सुविधा उपलब्ध गराउन सडक कालोपत्रसहित स्तरोन्नति गर्न थालिएको हो ।

    सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट थप ३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसअघि विनियोजन भएको २ करोड १५ लाख रुपैयाँ गरी ५ करोड १५ लाख रुपैयाँमा सडक स्तरोन्नतिको योजना सुरु भएको हो ।

    जिल्लाको मुख्य कृषि पकेट क्षेत्रका रूपमा रहेको जलजला–६ शालिजालाई जोड्ने सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित भएसँगै शनिबार सडक डिभिजन कार्यालय पोखराका प्राविधिक फिल्डमा खटिएर नापजाँच गरिसकेका छन् । अबलगत्तै योजना अघि बढाउने तयारी भएको छ । 

    चालु आर्थिक बर्षभित्रमै योजना सम्पन्न गर्नेगरी बजेट विनियोजन भएको पूर्वमन्त्री तथा सांसद पदम गिरीले जानकारी दिए । अहिले विनियोजन भएको बजेटले हुन नसकेको काम आगामी आर्थिक बर्षका लागि पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गराउन पहल गर्ने उनले बताए । आगामी आर्थिक बर्षमा मिलनचोकबाट शालिजासम्मको सडक स्तरोन्नति योजना सम्पन्न गर्न आफूले पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजनको पहल गरेको उनको भनाइ छ । 

    यो सडकको करिब दुई दशकअघि मार्ग खोलिएको थियो । तरकारी पकेट क्षेत्रका रूपमा चिनिएको वडा नम्बर ५ लेखफाँट हुँदै ६ नम्बर वडा शालिजा जोड्ने कृषि सडक जीर्ण हुँदा किसानले उत्पादन गरेको कृषि उपज बजारसम्म लैजान समस्या भोग्दै आएका छन् । 

    चालु आर्थिक बर्षमा मिलनचोकबाट लुङ्दी खोलाको मोटरेबल पुलसम्म प्रदेश सरकारको बजेटबाट सडक स्तरोन्नति योजना अघि बढेकाले वडा नं ४ खोलाखेतबाट अगाडि सडक स्तरोन्नतिको काम सुरु गरिने वडाध्यक्ष भरत क्षेत्रीले जानकारी दिए । 

    कच्ची, जीर्ण र साँघुरो सडकका कारण कृषि उपजको बजारीकरण तथा आवतजावतमा सर्वसाधारणले वर्षौँदेखि समस्या भोग्दै आएकाले सडक स्तरोन्नतिका लागि थप बजेट विनियोजन भएपछि स्थानीय उत्साहित भएको क्षेत्रीले बताए । 

    गण्डकी प्रदेश सरकारले मिलनचोक बजारबाट लुङ्गदी खोलाको मोटरेबल पुलसम्म एक किलोमिटर ५०० मिटर दूरीको सडक स्तरोन्नति गर्न १ करोड ७९ लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त बजेटबाट अहिले सडक स्तरोन्नतिको योजना सुरु भएको छ ।

    बहुवर्षीय ठेक्का लगाएर योजना कार्यान्वयन गर्न चालु आवका लागि प्रदेश सरकारले ७२ लाख रुपैयाँ विनियोजन गरेको छ । अहिले सडक फराकिलो पार्ने, पक्की नाली निर्माण, सडक ढलान र सोलिङको काम भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 
     
    सडक निर्माणका लागि युग विल्डर्स एण्ड सप्लायर्स प्रालि पोखरासँग १८ महिनामा सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । बाँकी रहेको खोलाखेतबाट शालिजासम्मको सडक फराकिलो, नाली निर्माण, ढलान र कालोपत्र गर्न रु आठ करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । 

    सडक स्तरोन्नति भएपछि जलजलाको वडा नं ४ खोलाखेत तथा ५ को रातामाटा र लेखफाँट, ६ को भोटेडाँडा, शालिजा र ठोटनेरीका साथै छिमेकी जिल्ला म्याग्दीका स्थानीय लाभान्वित हुनेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij