काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले शनिवार दिल्ली राज्यको विधानसभा चुनावमा ऐतिहासिक जनादेश प्राप्त गर्दै आम आदमी पार्टीलाई सत्ताच्युत गरेर २७ वर्षपछि सत्तामा फर्किएको छ।
दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालसहित आम आदमी पार्टी (आप)का कैयौँ शीर्ष नेताले आफ्नो गढबाट हार बेहोरेका छन्।
भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले महाराष्ट्रको चुनावमा विजय हासिल गरेको र पार्टीले हरियाणामा विजय हासिल गरेको केही महिनापछि दिल्लीका जनताले भाजपाको पक्षमा दुई तिहाईभन्दा बढी सीटसहित प्रतिनिधित्व गर्ने जिम्मेवारी दिएका छन्।
भाजपाले दिल्लीमा ७० सिटमध्ये ४८ सिट जितेको छ। आम आदमी पार्टी २२ सिटमा सीमित भएको छ।
सङ्घीय राजधानी दिल्लीमा आफ्नो पुनरुत्थानको आशामा रहेको काङ्ग्रेसले फेरि कुनै पनि सिट जित्न सकेन। सन् १९९८ देखि १५ वर्षसम्म दिल्लीमा शासन गरेको भारतीय नेशनल काङ्ग्रेस विधानसभा चुनावमा प्रतिनिधित्वविहीन भएको छ।