काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आइतबार एक हजार अवैध आप्रवासीलाई गिरफ्तार गरेको छ । सिकगो र मियामी जस्ता धेरै सहरमा धरपकड गर्दै गिरफ्तार गरिएको हो ।
त्यसैगरी ट्रम्पले अमेरिकामा जन्मँदा नागरिकता पाउने प्रावधानको अन्त्यका लागि प्रयास जारी राखेको बताएका छन् । उनले अमेरिकी संविधानको १४ औँ संशोधन दास प्रथाको अन्त्यसँगै दासका सन्तानलाई नागरिकता दिन यो नियम ल्याइएको भए पनि अहिले यो आवश्यक नभएको बताएका छन् ।
ट्रम्प आप्रवासी विरुद्ध आक्रामक भए पनि उनको विरुद्धमा प्रदर्शन सुरु भएको छ । टेक्ससको फर्ट वर्थ र यालेमा विद्यालय, चर्च र अन्य सार्वजनिक स्थलमा समेत गिरफ्तार हुन थालेपछि सबैको बाँच्न पाउने अधिकार रहेको भन्दै प्रदर्शन सुरु भएका हुन् ।
ट्रम्पलाई कोलम्बियाले आप्रवासी निर्बाध रूपमा फिर्ता गर्न अनुमति दिएपछि यसलाई आफ्नो जितको रूपमा व्याख्या गरेका छन् ।
यसैगरी मेक्सिकोका राष्ट्रपति सियनबाउमले अमेरिकाले फिर्ता पठाएका चार हजार आप्रवासी आफ्नो देशमा पठाएको बताएकी छिन् । ट्रम्प प्रशासनले आप्रवासीलाई कागजात मिलाउने सर्तमा पनि राख्न नदिने बताएका छन् । यसले सबै भन्दा धेरै अफगान र युक्रेनी शरणार्थीमा असर गर्ने देखिएको छ ।