काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘तेल भिसा’ यतिबेला दोश्रो हप्तामा प्रदर्शन भईरहेको छ । दोश्रो सातामा भारतीय चलचित्र नेपालमा रिलिज नभएको र तेल भिसाले राम्रो व्यापार गरेका कारण पहिलो साताको अधिकांश हलमा दोश्रो साता पनि प्रदर्शन भईरहेको वितरक करण श्रेष्ठले बताए ।
आईतबार बिहान यो चलचित्रको एक साताको बक्स अफिस रिपोर्ट सार्वजनिक गर्दै शुक्रबारसम्म पहिलो सातामा नेपालबाट चलचित्र तेल भिसाको ३ करोड भन्दा केही रुपैयाँ माथि व्यापार भएको श्रेष्ठले बताए । पाँच वटा चलचित्र घरको रिपोर्ट भने आज दिउँसो मात्र आईपुग्ने उनले बताए ।
विपिन कार्की मुख्य भूमिकामा रहेका यस चलचित्रमा वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ । चलचित्रमा केही विदेशी कलाकारहरूको पनि भूमिका छ ।
हलमा दर्शकको अकुपेन्सी राम्रो देखिएपछि सिनेमाका मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री ऋचा घिमिरेले काठमाडौं उपत्सकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्दै आइरहेका छन् ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ । अनिल पाण्डे र शिवराज कार्कीको लगानीमा निर्माण भएको यस चलचित्रलाई शंकर घिमिरेले निर्देशन गरेका हुन् ।
‘तेल भिसा’ अमेरिका र नेपालमा छायांकन गरिएको हो । यो चलचित्रले अमेरिकामा रहेका नेपालीहरूले भोग्ने समस्याहरू, दुःख र चुनौतिहरूलाई पर्दामा उतारेको छ । कथा र प्रस्तुतिका कारण दर्शकहरूको मन जित्न सफल भएको चलचित्रले नेपाली डायस्पोरामाझ विशेष रुचि बटुलिरहेको छ ।
चलचित्रको सफल प्रदर्शनसँगै यसले नेपाली चलचित्र क्षेत्रको व्यापारिक संभावना र कथा बुनाइको नवीन प्रयोगप्रति सकारात्मक संकेत दिएको छ ।