जापानमा भूकम्प गएको पाँच दिनपछि नौ दशक पार गरेकी वृद्धाको सकुशल उद्धार

जापानमा भूकम्प गएको पाँच दिनपछि नौ दशक पार गरेकी वृद्धाको सकुशल उद्धार

आइतवार, पौष २२ २०८०
आइतवार, पौष २२ २०८०
  • जापानमा भूकम्प गएको पाँच दिनपछि नौ दशक पार गरेकी वृद्धाको सकुशल उद्धार

    मध्यजापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई शनिबार उद्धार गरिएको छ ।

    सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ । तर, वर्षा र आँधीबेहरीका कारण आइतबार राहत वितरण तथा उद्धार कार्य जटिल हुन सक्ने बताएको छ ।

    जापानमा जनवरी १ मा गएको ७।५ म्याग्निच्युडको भूकम्प र त्यसपछिका परकम्पमा परी कम्तीमा १२६ जनाको मृत्यु भएको र २२२ जना हराइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

    भूकम्पको झड्का र त्यसपछिका परकम्पले भवनहरू भत्किएका थिए । ठूलो आगलागी भएको थियो र एक मिटरभन्दा अग्ला सुनामी छालहरू उत्पन्न भएका थिए ।

    विनाशकारी भूकम्प गएको तीन दिनपछि जीवित व्यक्तिहरू भेट्टाउने आशा प्रायः धुमिल हुन्छ । तर, सुजु सहरमा भत्किएको घरको भग्नावशेषमुनि पाँच दिन बिताएकी ती वृद्धालाई शनिबार उद्धार गरिएको छ ।

    उनलाई उपचारका निम्ति अस्पताल लगिएको छ । अस्पतालमा लैजानुअघि उनले प्रश्नको स्पष्ट जवाफ दिइरहेको सरकारी प्रसारक एनएचकेले जनाएको छ ।

    स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको घटनास्थलको प्रहरी फुटेजमा उद्धारकर्ताले ती महिलालाई उद्धार प्रयास जारी रहेको भन्दै नआत्तिईकन ‘त्यहीँ पर्खनुहोस्’ भनेको सुन्न सकिन्छ ।

    टोकियो प्रहरीका एक प्रवक्ताले एएफपीलाई टोकियो र फुकुओकाका अधिकारीले एक वृद्धाको उद्धार गरेको पुष्टि गरे पनि थप विवरण दिन चाहेनन् ।

    सोमबार भूकम्प आएको नोटो प्रायद्वीपका धेरै समुदाय क्षतिग्रस्त सडकले गर्दा राजमार्ग र सडक सञ्जालबाट टाढा हुनुपरेको छ । अनुमानित एक हजार पहिरोमध्ये केहीले सडकमार्गलाई पुरेको वा भत्काएका कारण त्यहाँ सहायताका निम्ति पठाइएका यातायातका साधन पनि बाटोमा नै अलपत्र बनेका छन् । 

    जापानको मुख्य होन्शु टापुको समुद्री तटमा रहेका प्रायद्वीपमा आइतबार दिउँसोसम्ममा चिसो वर्षाको सम्भावना रहेको बताइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij