अलैँचीको भाउ तेब्बर बढ्यो, किसान खुसी

अलैँचीको भाउ तेब्बर बढ्यो, किसान खुसी

आइतवार, पौष २२ २०८०
आइतवार, पौष २२ २०८०
  • अलैँचीको भाउ तेब्बर बढ्यो, किसान खुसी

    इलाम । अलैँचीको भाउ तेब्वरले बढेपछि इलामका किसान खुसी भएका छन् ।‘कालो सुन भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेपछि किसानमा खुसीयाली छाएको हो । गतवर्षभन्दा झण्डै तीन गुणा बढीले अलैँचीको भाउ बढेको ब्यवसायी जीवन पाण्डेले बताउनुभयो । “गत वर्ष यस याममा प्रतिमन २८ हजार थियो, हाल राम्रो अलैँची प्रतिमन ८५ हजारसम्म बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो । 

    “अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ”, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भन्नुभयो, “कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने भयो ।” अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको छ । किसान तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नभएकाले यस वर्ष भाउ बढेको हो। रोगले मासिँदै गएको अलैँचीलाई आधुनिक खेती प्रणाली अपनाएर किसानले पुरानै अवस्थामा पुर्याउने प्रयास गरिरहेका छन् ।

    सूर्योदय–१ बाङ्गिनका बिरेन शेरेङले करिब एक सय रोपनी क्षेत्रफलमा अलैँची लगाउनुभएको छ । वर्षमा २७ देखि ३१ मनसम्म उत्पादन गर्ने बिरेनले सबै खर्च कटाएर वार्षिक आठ–दश लाख बचत गर्दै आएको बताउनु भयो ।  प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियोे । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । अलैँची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको किसान शेरेङले बताउनुभयो ।

    जिल्लामा यस वर्ष एक हजार तीन सय २० दशमलव पाँच मेट्रिक टन अलैँची उत्पादन भएको छ । यो अघिल्लो वर्षको तुलनामा सात दशमलव ९६ प्रतिशतले धेरै हो । एक हजार सात सय ५३ हेक्टर जमिनमा सो बराबरको अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामसँग तथ्याङ्क छ । कार्यालयका कर्मचारी रुन खड्काका अनुसार गत आवमा एक हजार दुई सय १५ दशमलव २६ मेट्रिक टनमात्र अलैँची उत्पादन भएको थियो । गतवर्ष एक हजार सात सय ५५ हेक्टर जमिनमा अलैँचीखेती गरिएको थियो । गत वर्ष प्रतिहेक्टर शून्य दशमलव ६९ उत्पादकत्व रहेकामा चालु आवमा वृद्धि भएर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको कार्यालयले जनाएको छ।

    दशकअघि इलामका किसानको मुख्य आम्दानीको स्रोत नै अलैँची थियो । अलैँचीकै आम्दानीले घरखर्च चलाउनमात्र होइन, जग्गा–जमिन जोड्नसमेत सहयोग पुगेको थियो । तर अचानक अलैँचीमा रोग देखिएपछि जिल्लाका अधिकांश किसानको रोजीरोटी हरायो, धेरैको आम्दानी ठप्प भयो । विस्तारै अलैँची मासियो तर यसको भाउ भने एकाएक आकाशिएर प्रतिमन एक लाखसम्म पुगेको थियो। भाउ बढ्न थालेसंगै स्थानीय किसानले उन्नत तरिकाले खेती गरी पुःन उत्पादन बढाउँन सफल भएका हुन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij