मोरङ । रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँका बासिन्दालाई निःशुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन् । रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा २५ लाख रुपैया उपलब्ध गराएका हुन् । सो रकमबाट स्थानीयका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ ।
उर्लाबारी नगरपालिका–९ स्थित राजघाट उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको एम्बुलेन्स कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र वितरण गरेर निःशुल्क तथा अन्यलाई २० प्रतिशत छुटमा सञ्चालन गर्न थालिएको छ । वडाध्यक्ष नरवहादुर मोक्तानका अनुसार, विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदा नगरपालिकाले इन्धनको प्रबन्ध गर्ने व्यवस्था मिलाइएको छ ।
एम्बुलेन्स खरिदका लागि हङकङमा रहेका याम सेम्बु एक्लैले पाँच लाख ३० हजार उपलब्ध गराएका थिए । उनीसहित साङगेहाङ तुम्बाहाम्फेको सक्रियतामा सो रकम सङ्कलन गरेर एम्बुलेन्स खरिद गरिएको हो । स्थानीय मीना खवासले वडामा एम्बुलेन्स सञ्चालनमा आएकामा खुसी व्यक्त गर्दै आपत्कालीन अवस्थामा एम्बुलेन्स नपाउने समस्या अव समाप्त भएको बताइन ।
सहयोगी दातामध्येका अगुवाइकर्ता याम सेम्बुले गाउँको समस्यालाई आफ्नै ठान्दै एम्बुलेन्स सहयोग गरेको बताए । अर्का सहयोगी साङ्गेहाङ तुम्बाहाम्फेले विपन्न परिवारलाई सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स सहयोग गरेको बताए ।