भक्तपुुर । नेपालका अधिकांश शहर वायु प्रदूषण न्यूनिकरणका लागि संघर्ष गरिरहँदा भक्तपुरको चाँगुनारायण नगरपालिकाले भने कार्ययोजना नै बनाएर स्वच्छ वातावरण निर्माणका लागि कदम बढाएको छ । दैनिक बढ्दै गएको वायु प्रदूषणले नेपालमा चुनौती थपिरहेका बेला बढ्दो वायु प्रदूषण र त्यसले पारेको असर न्यूनीकरणका लागि नगरपालिकाले स्थानीय स्तरबाटै कार्ययोजना बनाएर अघि बढेको हो ।
चालु आर्थिक वर्षमा नगरपालिकाले सरसफाइको क्षेत्रमा विभिन्न योजना बनाएर कार्यान्वयन समेत गर्दै आएको छ । नगरपालिकाले ‘चाँगुनारायण नगरपालिका वायु गुणस्तर व्यवस्थापन कार्य योजना– २०८०’ निर्माण गरि सफा वातावरण सिर्जना गर्ने नयाँ कदम अघि बढाएको छ । देशका ७५३ स्थानीय तहहरुमध्ये कार्ययोजना नै बनाएर स्वच्छ वातावरण निर्माणका लागि लागिपरेको चाँगुनारायण नै पहिलो स्थानीय तह रहेको बताउँदै नगरपालिकाका प्रबक्ता जनक खत्री नगरपालिकाले स्वच्छ वातावरण निर्माण गर्ने लक्ष्य पुरा गर्नका लागि कार्ययोजना सँगसँगै आफ्ना सबै वडामा कार्यालयसमेत स्थापना गरेको बताउँछन् । त्यसमार्फत् नगरपालिकाले वायु गुणस्तर व्यवस्थापनका लागि विभिन्न कार्यहरु गर्दै आइरहेको प्रबक्ता खत्रीको भनाई छ ।
नगरपालिकाका वास संयोजक सुरेन्द्र लामिछानेका अनुुसार यही आर्थिक वर्षमा ‘चाँगुनारायण नगरपालिकाकाले दिसाजन्य लेदो व्यवस्थापन कार्यविधि’ निर्माण गरेकोछ। उक्त कार्यविधिमा भएअनुसार नगरपालिकाले मिस्त्रीहरुको लागि २ दिने सुरक्षित सेफ्टी ट्याङ्की निर्माणसम्बन्धी तालिम समेत दिइसकेको छ ।
नगरबासीमा सचेतना जगाउनका लागि सचेतनामूलक र्याली, स्वच्छ हावासम्बन्धी अभियान आदि गर्दै आएको नगरपालिकाले बालबालिकामा समेत स्वच्छताको ज्ञान दिँदै आएको लामिछाने बताउँछन् । चाँगुनारायणले विभिन्न संघसंस्थाहरुको सहयोग लिइ विद्यालयमा इको क्लब गठनदेखि लिएर नकुहिने फोहोर न्यूनिकरणसमेतका शिक्षाहरु विद्यालयस्तरबाटै दिँदै आएको छ ।