मुगु । नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको रारामा छ महिनामा छ हजार बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार गत साउन १ गतेदेखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक छ हजार पाँच सय ५७, सार्क तथा विदेशी मुलुकबाट एक सय ५६ गरी छ महिनामा छ हजार सात सय १३ पर्यटकले रारा अवलोकन भ्रमण गरेका हुन् ।
दसैँ तथा तिहार बिदामा रारामा आन्तरिक पर्यटक बढी आएको बताइएको छ । गत वर्ष एघार हजार आन्तरिक पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुकबाट २६ र अन्य विदेशी एक सय ८३ जना पर्यटक आएका थिए । कोरोना महामारीका कारण चार वर्षसम्म शिथिल बनेको पर्यटकीय क्षेत्र यस वर्ष भने आशा गर्न लायक देखिएको छ ।
निकुञ्जले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति एक सय, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको छ । रारामा हवाई मार्गबाट ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत पर्यटक भ्रमण गर्न आउने गरेको निकुन्जले जनाएको छ।