काठमाडौँ, १ असोजः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब रुपैयाँ नाघेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहानसम्म कोषमा विभिन्न नौवटा बैंकका खातामा गरी रु १० अर्ब ७९ करोड २६ लाख ६४ हजार ८९८ मौज्दात छ ।
त्यस्तै, कोषका दुईवटा बैंकमा रहेका अमेरिकी डलर खातामा दुई करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको छ । सबै खातामा रहेको रकमलाई नेपाली रुपैयाँमा हिसाब गर्दा कोषको मौज्दात रु १४ अर्ब ४५ करोड ९८ लाख १० हजार १७८ पुगेको कार्यालयले जनाएको छ ।
कोषमा जम्मा भएको रकममध्ये रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु एक अर्ब निकासा भइसकेको छ । उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत परिचालन गरिएको हो ।
यसैबीच, सरकारले रसुवाका बाढी प्रभावित परिवारलाई आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
निर्णयअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक रु १५ हजार र चार जनाभन्दा बढी सदस्य भए थप प्रत्येक सदस्यका लागि रु दुई हजार अतिरिक्त रकम उपलब्ध गराइनेछ ।