काठमाडौँ, १ असोजः भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गुरु रिम्पोछेले रु एक करोड ५० लाख सहयोग गरेका छन् ।
गुरु रिम्पोछेले बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा उनले आफ्नो पुस्तक ‘जोए अफ लाइफ’ पनि शिक्षामन्त्री पोखरेललाई हस्तान्तरण गरेका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियार पनि सहभागी थिए ।
गुरु रिम्पोछेका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गरिएको हो ।